सुदूरपश्चिममा स्थानीय तह निर्वाचनको तयारी सुरु
2022/02/21, 11:21
 
dd

सरकारले आगामी वैशाख ३० गते तोकेको स्थानीय तहको चुनावको तयारी सुरु भएको छ । सुदुरपश्चिमको प्रदेश निर्वाचन कार्यालयसँगै जिल्ला निर्वाचन कार्यालयहरू निर्वाचनको तयारीमा जुटेका छन ।

निर्वाचन कार्यालयहरुले वैशाख ३० मा हुने निर्वाचनको तयारी अन्तर्गत प्रथम चरणको काम थालेका छन् । अहिले मतदाता नामावली अध्यावधिक गर्ने काम भइरहेको छ । नामावली उपर दाबी विरोध गर्न आह्वान गरिएको छ ।  सरकारले तोकेकै मितिमा चुनावका लागि तयारीमा जुटेको जिल्ला निर्वाचन कार्यालय अछामका सूचना अधिकारी गजेन्द्रप्रकाश थारूले बताए । 

मतदाता परिचय पत्र हराएको अवस्थामा नयाँ बनाउने प्रयोजनका लागि निवेदन अह्वान गर्नुका साथै १९ फागुनबाट मतदाता नामावली प्रकाशित गर्ने तयारी भएको जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख राजेश भट्टराईले बताए ।

मतदाता नामावली प्रकाशन गर्नुपूर्व मृत्यु भएका, बसाइसराई गरेका नामहरू उपर दाबी विरोध गर्न अधिकारीहरूले सर्वसाधारणलाई आग्रह गरेका छन् । मतदाता नामावली प्रकाशन गर्न, निर्वाचन केन्द्र र संख्या निर्धारण गर्न, कर्मचारी व्यवस्थापन गर्ने कार्यमा निर्वाचन कार्यालयहरू जुटेको प्रदेश निर्वाचन कार्यालय धनगढीका निमित्त प्रमुख प्रेमदत्त भट्टले बनाए ।

उनले  निर्वाचन तयारीमा सबै निर्वाचन कार्यालय जुटेँको बताउँदै वडामै मतदाता नामावली प्रकाशनको चरणमा रहेको जनाए ।  प्रदेशका ९ जिल्लामा रहेका निर्वाचन कार्यालयले स्थानीय तहको निर्वाचनका लागि पालिकाका र वडा कार्यालयमा मतदाता नामावली विवरण पुगाउने काम भएको बताएका छन् ।