धनगढी विमानस्थल स्तरोन्नति गर्न प्रारम्भिक अधिकारी तोकियो
2022/02/21, 11:27
 
aa

धनगढी विमानस्थलको स्तरोन्नति गर्नका लागि प्रारम्भिक अधिकारी तोकिएको छ । विमानस्थल स्तरोन्नतिका लागि जग्गा अधिग्रहण गर्न विमानस्थलका कार्यालय प्रमुख रामकृष्ण भट्टलाई  प्रारम्भिक अधिग्रहण अधिकारी तोकिएको हो । 

नेपाल सरकारको मन्त्री परिषद्को बैठकले  जग्गा अधिग्रहण लगायतका कार्य अगाडी बढाउने जिम्मेवारी सहित भट्ट लाई प्रारम्भिक अधिकारी तोकेको हो । धनगढी विमानस्थल स्तरोन्नतिका लागि आवश्यक पर्ने जग्गाको सर्भे गर्न आएको टोलीले कार्य सम्पन्न गरेर फर्किएको छ । 

धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले २ सय ५८ विघा जग्गा अधिग्रहण गर्न प्राविधिक टोलीले सर्भे गरेको बताए । उनका अनुसार सर्भे रिपोर्ट प्राधिकरणमा समेत पेश गरिएको छ । तर सर्भेले निकालेको तथ्यांक र नापीसँग भएको डिजिटल नक्सालाई मिलाउनु पर्ने हुँदा सो रिपोर्ट सार्वजनिक गर्न केही समय लाग्ने छ । 

जग्गाको मुआब्जा निर्धारण समितिको जिम्मा भने प्रमुख जिल्ला अधिकारीलाई दिनुपर्ने कानुनी प्रावधान छ । योसँगै धनगढी विमानस्थल विस्तारको कामले गति लिने अपेक्षा गरिएको छ ।

नागरिक उड्यन प्राधिकरण क्यानको ३९२ औं बैठकले धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा विस्तार गर्नका लागि नक्सा पारित गर्ने निर्णय गरेको थियो । साथै २५८ बिगा जग्गा अधिग्रहण गर्ने प्रस्ताव समेत पारित गरेको थियो । अहिले विमानस्थलमा १८ सय मिटरको धावनमार्ग छ भने स्तरोन्नतिका लागि २५५० मिटरको छुट्टै धावनमार्ग बनाइने छ ।