कैलालीमा हुलाकी राजमार्ग स्तरोन्नतिको कार्यले गति लिएको छ । कोरोना महामारीका कारण गतवर्ष राम्ररी काम हुन नसके पनि यसवर्ष तदारुकताका साथ काम अगाडि बढाइएको छ । धनगढीको क्याम्पस रोडदेखि धनगढीकै कालिका मन्दिरसम्म ३ंं.५ किलोमिटरमा चार लेन र बाँकी ठाउँमा दुई लेन रहने गरी हुलाकी राजमार्ग स्तरोन्नतिको कार्य अगाडि बढेको हो । धनगढीदेखि सत्तिसम्म चार खण्डमा विभाजन गरेर स्तरोन्नतिको काम भइरहेको हुलाकी राजमार्ग आयोजनाको कार्यालयले जानकारी दिएको छ ।
धनगढीदेखि कटैनी नदीसम्मको पहिलो खण्डलाई तीन प्याकेजमा विभाजन गरेर काम भइरहेको छ । पहिलो प्याकेज धनगढीको क्याम्पस रोडदेखि खुटिया पुलसम्म सात किलोमिटरको रहेको छ । यो प्याकेजको ३ंंं.५ किलोमिटर दूरी अर्थात धनगढी क्षेत्रमा चार लेनको राजमार्ग बन्नेछ । ४० करोड रुपियाँमा ठेक्का भएको यो प्याकेजमा करिब ४० प्रतिशत काम पूरा भएको हुलाकी राजमार्ग आयोजना कार्यालयका इन्जिनीयर पदम मडैले जानकारी दिए । यसैगरी, ७ देखि १९ किलोमिटर दूरीको दोस्रो प्याकेजमा हालसम्म करिब २५ प्रतिशत काम पूरा भएको छ । दुई लेनमात्रै सडक रहने यो प्याकेजको ठेक्का रकम २५ करोड रुपैयाँ रहेको छ । यस्तै, १९ देखि ३१ किलोमिटरसम्मको तेस्रो प्याकेजको २० प्रतिशत काम पूरा भएको छ । यो तीन वटै प्याकेजको ठेक्का स्वच्छन्द जोशी जेभीले पाएर काम गरिरहेको छ ।
यस्तै, कटैनी नदीदेखि कान्द्रा नदीसम्मको १८ किलोमिटरसम्म अर्को खण्ड छुट्टयाएर काम भइरहेको छ । यो खण्डमा बसन्ता वनस्थित दुई किलोमिटरमा हुलाकी राजमार्ग नै विस्तार भएको थिएन । हुलाकी विस्तार गर्न बाँकी रहेको दुई किलोमिटर राजमार्ग विस्तारको कार्य भइरहेको छ । अहिलेसम्म ९० प्रतिशत काम पूरा भइसकेको आयोजनाको कार्यालयले जनाएको छ । आगामी चैतमा दुई किलोमिटर सडक विस्तारको काम सम्पन्न हुने इन्जिनीयर मडैले जानकारी दिए । कान्द्रा नदीदेखि सत्तीसम्मको बाँकी १३ किलोमिटरमा कालिका जोशी जोभीले ठेक्का पाएर राजमार्ग स्तरोन्नतिको काम गरिरहेको छ । राजमार्ग चार र दुई लेनमा स्तरोन्नतिको कार्य अन्तर्गत विभिन्न खण्डमा माटो भरान गर्ने, पुरानो कल्भर्ट बनाउने लगायतका कार्य भइरहेको इन्जिनीयर मडैले बताए ।
यस्तै, लम्की–टीकापुर–खक्रौलासम्मको २९.७ किलोमिटर हुलाकी राजमार्ग स्तरोन्नतिको कार्य तीन खण्डमा विभजान गरेर भइरहेको छ । पहिलो खण्ड लम्की क्षेत्रमा आठ किलोमिटरमा चार लेनको राजमार्ग रहने जनाइएको छ । ४० करोड रुपैयाँमा ठेक्का पाएर कालिका कुमार जेभीले सडक स्तरोन्नतिको कार्य गरिरहेको छ । यसैगरी, ८ देखि १९ किलोमिटरको दोस्रो खण्डमा ४० करोड रुपैयाँमै ठेक्का पाएर खड्का–कृष्ण–एपेक्स जेभीले स्तरोन्नतिको काम गरिरहेको छ । १९ देखि २९.७ किलोमिटरको तेस्रो खण्डमा जाल्पा रायमाझी जेभीले २५ करोड रुपियाँमा ठेक्का पाएर काम गरिरहेको छ ।
धनगढीदेखि सत्तीसम्म र लम्कीदेखि खक्रौलासम्म दुवै खण्डमा हुलाकी राजमार्ग स्तरोन्नतिको समायवधि २०७९ पुस मसान्तसम्म रहेको इन्जिनीयर मडैले जानकारी दिए । कैलालीमा सन २०१० देखि पहिलो चरणमा हुलाकी राजमार्ग निर्माणको कार्य भएको थियो । सो क्रममा बसन्ता वन क्षेत्र र धनगढीको क्याम्पस रोडदेखि भन्सारसम्मबाहेक अन्य क्षेत्रमा काम सम्पन्न गरिएको थियो । पहिले एक लेनको यो राजमार्गलाई स्तरोन्नति गरेर सहरी क्षेत्रमा चार लेन र अन्य क्षेत्रमा दुई लेनको बनाउने कार्य भइरहेको छ ।
यसैबीच, कञ्चनपुरमा हुलाकी राजमार्ग निर्माणको कार्य सन्तोषजनक देखिएको छैन । निर्माण कम्पनीहरुको कामप्रतिको ढिलासुस्ती, कोरोना कहर र मौसम प्रतिकुलताका कारण देखाउँदै आयोजनाको काम लिम्बने क्रम चलिरहेको छ ।विसं २०७३ फागुनमा तीस महिनाभित्र निर्माण सक्ने गरी ६२ किलोमिटर हुलाकी सडक तीनवटा प्याकेजमा निर्माण भइरहेको छ । ‘३४ किलोमिटर सडक कालोपत्र भइसकेको छ’, इन्जिनीयर मडैले भने, ‘सबै गरेर ७५ प्रतिशत काम भइसकेको छ ।’ उनले केहीसमय अघिसम्म मौसम प्रतिकुलताका कारण कालोपत्र गर्न ढिलाइ भए पनि गर्मी सुरुभएसँगै त्यसले गति लिने बताए ।
अन्तिम प्याकेज (बेल्डाँडीदेखि दैजीसम्म)को भाग शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्ने भएकाले रुख कटान प्रक्रिया केही ढिलाइ भएको थियो । यसैगरी बिचमा पर्ने बेलौरीदेखि बेल्डाँडीसम्मको २० किलोमिटर निर्माणको जिम्मा बाबा–हंश सिद्धीसाइँ जेभीले पाएको थियो । एक अर्ब नौ करोडभन्दा बढी लागतको उक्त आयोजना समयमै सम्पन्न नहुँदा सर्वसाधारणले कैयौं समस्या खेप्दै आएका छन् ।