धनगढी मेयर एलपीएल–६ः सेमिफाईनल समिकरण पुरा
2022/02/24, 2:40
 
ss

धनगढी मेयर लिटल फ्लार प्रिमियर लिग–६ विद्यालय स्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाईनल समिकरण पुरा भएको छ । आज भएको समूह चरणको अन्तिम खेलमा काठण्माडौँको हिमालयन ह्वाइट हाउस स्कुलले होलिल्याण्ड स्कुल अत्तरियालाई पराजित गरेसँगै प्रतियोगितामा सेमिफइनल यात्रा तय गर्ने चार टिमको अन्तिम टुंगो लागेको हो । 

समूह ‘ए’ बाट जित्नैपर्ने खेलमा ह्वाइट हाउससँग ८० रनले पराजित भएसँगै होलिल्याण्ड उपाधि होडबाट बाहिरीँदा शारदा सरस्वती दोधारालाई फाइदा पुगेको छ । शारदा रन रेटमा होलील्याण्ड र एभरेष्ट एकेडेमीलाई पछि पार्दै सेमिफाइनल प्रवेश गरेको छ । शारदा सम्मिलित समूहबाट ह्वाइट हाउस समूह विजेता बनेर ८ अंक सहित सेमिफाइनलमा पुगेको छ । शारदाको ४ अंक छ ।  समूह ‘बी’ बाट विद्या भूषणलाई रन रेटमा पछि पार्दै सत्यवती समूह विजेता बनेर सेमिफइलन पुग्दा विद्या भूषण समूह उप–विजेता बनेर सेमिफइनल पुगेको छ । दुबै टिमको अंक भने समान ६÷६ रहेको छ । 

समूह चरणको जित्र्नैपर्ने अन्तिम खेलमा होलील्याण्ड अत्तरीयाले ह्वाइट हाउससँग ८० रनको हार ब्यहोर्यो । टस हारेर ब्याटिङको निम्तो पाएको हिमालयन ह्वाइट हाउस स्कुल काठमाण्डौँले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९६ रन बनाएको थियो । १ सय ९७ रनको विशाल विजयी लक्ष पछ्याएको होलिल्याण्डले १५.२ ओभरमा आफ्ना सबै विकेट गुमाएर १ सय १६ रन मात्रै बनाउन सक्यो । उसका राज विश्वकर्माले २७ बलमा ३०, दीपक टमाटाले १३ बलमा २२ र अभिषेक पालले ७ बलमा १९ रन बनाउनु बाहेक अन्य ब्याट्म्यानको प्रदर्शन सम्झनलायक बन्न सकेन ।  होलिल्याण्डलाई सस्तैमा समेट्न बलिङ तर्फ हिमालयनका वशन्त सिंह कार्कीले महत्वपूर्ण ४, राहुल भण्डारी र सतिश यादवले समान २÷२ तथा सार्थक धितालले १ विकेट लिए । 

यस अघि हिमालयनका लागि दीपक बोहराको जोडीले ५७ बलमा ९६ रनको उत्कृष्ट साझेदारी गर्दै हिमालयनलाई राम्रो सुरुवात दिलाए । ९.३ ओभरमा पहिलो विकेट गुमाएको हिमालयनका लागि दीपक बोहरा (जुनियर) ले ४९ बलमा ५ छक्का र ८ चौकाको मद्दतले ८७ रनको उत्कृष्ट पारी खेले । उसका राहुल भण्डारीले १५ बलमा २९, नारायण जोशीले ९ बलमा २७, दीपक बोहरा (सिनियर) ले २७ बलमा २१ रन बनाए ।  बलिङ तर्फ होलिल्याण्डका जीत साउदले ३ र गजेन्द्र बोहराले १ विकेट लिए ।  खेलको प्लेयर अफ दी म्याच दिपक बोहरा(जुनियर) घोषित भए । गेम चेन्जर अवार्ड वशन्त सिंह कार्कीले पाउँदा, सर्बाधिक छक्काको अवार्ड दिपक बोहरा(जुनियर) ले नै पाए । 

शुक्रबार हुने सेमिफइनलको पहिलो खेलमा बिहान ९ः३० बजे ह्वाइट हाउस र विद्या भूषण तथा दोश्रो सेमिफइनल खेलमा दिउसो १ः३० बजे सत्यवती र शारदा भिड्नेछन् ।  प्रतियोगिताको विजेताले १ लाख ५० हजार र उप–विजेताले ७५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले २० हजार रुपैयाँ, उत्कृस्ट ब्याट्सम्यान र बलरले समान १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।