क्यानको साधारण सभा धनगढीमा हुँदै, एजेन्डा के के ?
2022/02/24, 3:19
 
dd

नेपाल क्रिकेट संघ क्यानको बार्षिक साधारण सभा शुक्रबार र शनिबार धनगढीमा हुँदैछ । जसमा क्यानले नयाँ आर्थिक नियमावली पारित गर्ने, २०२२ को बार्षिक बजेट र अघिल्लो बर्षको आय र ब्ययको हिसाबकिताबलाई सार्वजनिक गर्नेछ । यसका साथै बर्ष २०२२ मा क्रिकेट गतिविधिको क्यालेन्डरका बारेमापनि छलफल हुने संभावना छ । 

स्रोतका अनुसार क्यानले बर्ष २०२२ को बजेटलाई सार्वजनिक गर्नेछ । जसमा करिव २६ करोडको बजेट यो बर्ष कार्यक्रम र विकाश भनेर राखिनेछ ।  यस्तै नेपाल क्रिकेट संघको आर्थिक नियमावली र कार्यविधीका बारेमा पनि छलफल हुनेछ । यस्तै २०७८–७९ को बार्षिक लेखापरिक्षकको नियुत्ती गर्नेछ भने २०७७–७८ को बार्षिक लेखा परिक्षण प्रतिबेदन अनुमोदन गरिनेछ । 

क्यानले गठन गरेका विभिन्न समितिहरुको कोड अफ कन्डक्ट र टीओआर दिइनेछ भने नयाँ जिल्ला संघलाई मान्यता दिने एजेन्डा रहेको छ ।  हाल क्यानमा ३९ जिल्लामा क्रिकेट संघ रहेको छ । जसमा कार्यकाल सकिँएका २० वटा जिल्लाको यो साधारण सभा अगाडी अधिवेशन भएको थियो । 

यस्तै क्यानको केन्द्रिय समितीमा रिक्त रहेका पदहरुमा नयाँ नियुक्ति गर्ने, जिल्ला र प्रदेशलाई दिने बजेटमा पनि छलफल हुनेछ । यस्तै अरु विविध विषयमा छलफल हुनेछ ।   साधारण सभा अगाडी आजै क्यानको बोर्ड बैठक बस्नेछ । आज दिउँसो तीन बजेका लागि बोर्ड बैठक राखिएको छ । धनगढीको रुबस होटेलमा हुने साधारणसभा र बोर्ड बैठकले साधारण सभाका लागि बाँकी एजेन्डा बनाउनेछ ।