महाकाली अस्पतालबाट थप १८ जना डिस्चार्ज
2020/06/20, 7:38
 
korona

कोरोना संक्रमणपछि महाकाली अस्पताल भर्ना भएका १८ जना डिस्चार्ज भएका छन् । स्वाब संकलन भएको १५ दिनपछि उनीहरु सबैलाई डिस्चार्ज गरिएको हो । स्वास्थ्य मन्त्रालयका निर्देशिका अनुसार लक्षण नदेखिएको र अवस्था सामान्य रहेकाले उनीहरुलाई परीक्षण बिना नै डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

महाकाली अस्पतालका अनुसार डिस्चार्ज हुनेमा पुनर्वास नगरपालिकाका ७, भीमदत्त नगरपालिकाका ५ र शुक्लाफाँटा नगरपालिकाका २ जना रहेका छन् । यसैगरी कैलालीको गौरीगंगा नगरपालिकाका ४ जना डिस्चार्ज भएका छन् ।

‘सबै जनालाई दुई हप्तासम्म आइसोलेसनमा राखेर डिस्चार्ज गरिएको हो’, महाकाली अस्पतालका डा. सरोज आचार्यले भने, ‘स्वाब संकलन भएको १५ दिनमा हामीले डिस्चार्ज गरेका हौं ।’ उनका अनुसार शुक्रबार बिहान १४ जना र साँझ थप ४ जना डिस्चार्ज भएका हुन् । उनीहरु सबैलाई सम्बन्धित स्थानीय तहको जिम्मा लगाइएको हो ।

यसअघि पनि महाकाली अस्पतालबाट ११ महिने बालक सहित १९ जना डिस्चार्ज भएका छन् । उनीहरुलाई पनि आइसोलेसनमा राखेको १४ दिनपछि परीक्षण बिना नै डिस्चार्ज गरिएको हो । महाकाली अस्पतालका अहिले पनि २२ जना संक्रमित आइसोलेसनमा रहेका छन् । डा. आचार्यका अनुसार सबैको अवस्था सामान्य छ ।