मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपः मनाङ सेमिफाईनलमा
2022/03/03, 7:03
 
khel

मनाङ मस्याङदी क्लब पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपमा सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार प्रतियोगिताको पहिलो खेलमा भारतीय टोली दिल्ली फुटबल क्लबमाथि २–१ को पुनरागमन जित निकाल्दै मनाङ सेमिफाइनलमा पुगेको हो ।

धनगढी रंगशालामा सम्पन्न खेलमा ६७ औं मिनेटमा कृष्ण पण्डितले गोल गर्दै दिल्लीलाई अग्रता दिलाए । तर, ७७ औं मिनेटमा कप्तान अञ्जन विष्टले गोल गर्दै मनाङलाई खेलमा फर्काए । यस्तै, खेलको ८० औं मिनेटमा विमल रानाले गोल गरेपछि मनाङले २–१ को जित निश्चित गर्यो । खेलको म्यान अफ दि म्यान मनाङका अञ्जन चुनिए । उनले नगद १० हजार प्राप्त गरे ।

सुदूरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता छ । आयोजक सुदूरपश्चिम–११ सहित मनाङ, दिल्ली, हिमालयन शेर्पा क्लब, एनजेजेवाइसी फुटबल क्लब, क्यामरुनको एभेनिर फुटबल क्लब, फ्रेन्ड्स क्लब, बागमती युथ क्लब, न्यूरोड टिम र मछिन्द्र फुटबल क्लब छन् । प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ । 

सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउनेछन् भने उत्कृष्ट गोलकिपर, रक्षक, मिफल्डर, फरवार्ड, उच्च गोलकर्ता र प्रशिक्षकसहित उदीयमान खेलाडी र फेयर प्ले टिमले नगद २५ हजारका दरले  प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।