कञ्चनपुरमा ‘नाबालिग सम्बन्ध’ बाट जन्मिन छोरी, मिलाउने चलखेल विफल
2022/03/07, 12:40
 
dd

केही दिन अघि एक १४ बर्षीया बालिकाको पेट दुख्यो । असह्य भएपछि उनले त्यो कुरा घर मालिकलाई सुनाइँन । सामान्य खालको पेट दुखाइ होला भनेर घर मालिकले उपचारका लागि महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल पठाए, आफ्ना भतिजाको मोटरसाइकलमा राखेर ।

अस्पतालमा बालिकाले छोरी जन्माइन् । अर्काको घरमा काम गरिरहेकी नाबालिगले बच्चा जन्माएपछि व्यापक हल्ला भयो । ‘कसको बच्चा हो ?’ बालिकालाई सोधपुछ गरियो । उनले घर मालिककै भतिजालाई देखाइन् । जसले मोटरसाइकलमा राखेर उनलाई अस्पताल पु¥याएका थिए । ती बालकको उमेर पनि १६ वर्ष मात्र छ ।

घरेलु कामदार थिइन् बालिका
यो घटना भीमदत्त नगरपालिकाको हो । केटाकेटी दुबैजना नाबालिग भएकाले घटना निकै संवेदनशील छ । त्यसैले उनीहरुको घर, ठेगाना र नामहरु गोप्य राखेर आफ्ना पाठकहरुलाई जानकारी पस्किने प्रयास गरेको छ ।

कञ्चनपुरकै दक्षिणी क्षेत्रको चौधरी समुदायकी ती बालिकाकी आमा छोरी कलिलै उमेरको छदा बितिन । त्यसपछि उनका बुवाले दोस्रो बिहे गरे । बुवाले सौतेनी आमा ल्याएपछि बालिकामाथि कुटपिट हुन थाल्यो । सानो सानो कुरामा पनि निहुँ झिकेर कान्छि आमाले कुटन थालेपछि बालिका झर्किन थालिन् । त्यसपछि उनका बुवाले छोरीलाई महेन्द्रनगरको एकजना कुखुरापालक कहाँ घरेलु कामदारको रुपमा पठाए । 

कुखुरापालनमा संलग्न ती किसानका छोराछोरी बिदेशमा छन् । घरमा श्रीमान–श्रीमती मात्रै बस्छन् । उनीहरुले नजिककै एक सरकारी स्कुलमा ती बालिकालाई भर्ना गरिदिए । स्कुलबाहेकको समयमा उनले घरायसी काम गर्थिन ।

प्रहरीका अनुसार ती किसानका भतिजा,जो आफै पनि नाबालिग हुन् । उनीहरुका बीचमा एक वर्षदेखि शारीरिक सम्बन्ध रहदै आएको थियो । ‘दुबै नाबालिग छन्, बालिकाको सहमति हो वा होइन्, त्यो खुलेको छैन्, हामी अनुसन्धानकै क्रममा छौं,’ प्रहरी स्रोतले भन्यो ।

मिलाउने चलखेल बिफल
बालिकाले छोरी जन्माएपछि घर मालिक तनावमा परे । फेरी उनकै भतिजातर्फ बालिकाले इसारा गरेपछि उनी तनावमा पर्नु स्वभाविक थियो । त्यसपछि घटना मिलाउन अनेक चलखेलहरु सुरु गरिए ।

स्रोतका अनुसार बालिकाकी सौतेनी आमालाई पैसाको प्रलोभन दिइयो । उनी अर्को दिन श्रीमानलाई ल्याएर जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा पुगिन । उनीहरुको साथमा गाउँकै चौधरी समुदायका एक युवक पनि थिए । उनीहरुले त्यो बच्चा ‘यसैको भएको’ भन्दै जिम्मा दिन अनुरोध गरे ।

‘बालिकाको परिवार र ती युवकलाई पैसाको प्रलोभन देखाएर स्वीकार गर्न राजि पारिएको थियो,’ स्रोतले भन्यो, ‘तर, घटनाको संबेदनशीलतालाई ध्यान दिदैं प्रहरीले त्यो कुरा मानेन । बरु अरु बिकल्प दिइयो ।’ त्यो बिकल्प थियो– मुद्दा दर्ता नगर्ने । नाबालिगहरुलाई आआफ्नो परिवारको जिम्मा लगाउने र उमेर पुगेपछि बिहे गराइदिने । 

तर, यसमा पनि प्रहरीले सर्त राख्यो– भोलि घटना सार्बजनिक भएमा गाहे हुन्छ । त्यसैले महिला मानवअधिकारकर्मी र पत्रकारहरुको सहमति चाहिन्छ । दुबै परिवार एक/एक जना अधिकारकर्मी र पत्रकारको सम्पर्कमा पुगे । केहीले राजनीतिक दलका नेता गुहारे । अधिकारकर्मीले भने त्यसमा साथ नदिने प्रष्ट पारिन । तर, पत्रकार र नेताहरुले भने तपाइँहरु मिल्नु हुन्छ भने हामीलाई समस्या हुदैँन भनेर पठाइदिए ।

स्रोतका अनुसार यी सबै बिकल्प प्रहरीको तल्लो तहका कर्मचारीले दिएका थिए । यसबीचमा प्रहरी प्रमुख एसपी श्याम चौधरीलाई भने केही नेताहरुले मुद्दा दर्ता नगर्न निरन्तर दबाब दिइरहेको खुलेको छ । एसपी चौधरीले भने समाजका बिभिन्न व्यक्ति र स्थानीय संघसंस्थाहरुसँग व्यक्तिगत रुपमा छलफल गरे । सबैको सुझावपछि मुद्दा दर्ता गराएर अनुसन्धान अगाडि बढाउन निर्देशन दिएका छन् ।

सेफ हाउसमा बस्छिन् बालिका
गत १४ गतेदेखि बालिका छोरीसहित महेन्द्रनगरको एक सेफ हाउसमा बसिरहेकी छन् । ‘बच्चा र आमाको स्वास्थ्य अवस्था राम्रो छ,’ नाम उल्लेख नगर्ने सर्तमा सेफ हाउसकी एक कर्मचारीले भनिन्, ‘प्रहरीको अनुरोधमा उनलाई यहाँ राखेर रेखदेख र काउन्सिलिङ गरिरहेका छौं ।’

कानूनमा के छ व्यवस्था ?
नेपालको कानूनले १८ वर्ष मुनिकालाई नाबालिग मान्दै आएको छ । यस्तो घटनाकोबारेमा कानूनमा कुनै स्पष्ट उल्लेख नगरिएको महेन्द्रनगरस्थित उच्च बारका अध्यक्ष यज्ञराज जोशी (इजलास) ले बताए । ‘नाबालिगको हकमा बैबाहिक सम्बन्ध कायम हुन सक्दैन, उनले भने, ‘एक–अर्कासँग छुट्टयाएर अभिभावकको जिम्मा लगाउने हो र उमेर पुगेपछि उनीहरुलाई बिहेको स्वतन्त्रता रहन्छ ।’

बालिकाको हकमा प्रमुख जिल्ला अधिकारीले भरणपोषणको व्यवस्था मिलाउन सक्ने अधिवक्ता जोशीले बताए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका इन्सपेक्टर तथा मुद्दा फाट प्रमुख लालबहादुर बमले बालकलाई प्रहरी कार्यालयमै राखेर अनुसन्धान जारी रहेको बताए । ‘संबेदनशील घटना भएकाले अहिल्यै मिडियालाई बिस्तृतमा भन्न मिल्दैन,’ उनले भने ।