महाकाली अस्पतालमा डायलासिस सेवा सञ्चालन हुने
2022/03/08, 12:24
 
da

कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा मिर्गौलाका बिरामीलाई लक्ष्य गरी डायलासिस सेवा सञ्चालन हुने भएको छ । अस्पतालमा आगामी असारदेखि डायलासिस सेवा शुरू गर्ने लक्ष्य राखेर कार्य अघि बढाइएको छ । अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. अर्जुन भट्टले आगामी असारभित्र सेवा शुरू गर्ने लक्ष्य राखेर कार्य शुरू गरिएको बताए ।

उनका अनुसार सेवा सञ्चालनका लागि भवन निर्माणका लागि ५८ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ । सम्झौताअनुसार निर्माण शुरू भएको छ ।

अस्पतालमा सेवा सञ्चालनका लागि ५ मशिन खरिद गरिएका छन् । ती मशिनको मूल्य १ करोड २५ लाख रुपैयाँ रहेको छ । अस्पतालले स्वास्थ्यकर्मीलाई तालिमका लागि समन्वय अघि बढाएको छ ।डायलासिस सेवाका लागि फिजिसियनदेखि स्टाफ नर्सलगायत १० जनालाई तालिम दिनुपर्ने उनले बताए ।

उनका अनुसार सेवा सञ्चालन भएपछि दैनिक १० देखि १५ जनालाई डायलासिस गर्न सकिन्छ । अहिले कञ्चनपुरमा मात्रै सय बढी मिर्गौलाका बिरामी सेती प्रादेशिक अस्पताल र सीमावर्ती भारतीय बजारमा डायलासिस गराइरहेका छन् ।

यसैगरी अस्पतालमा जडान हुने २ वटा अक्सिजन प्लान्टमध्ये १ प्लान्ट जडान भई उत्पादन शुरू भएको छ । अर्को अक्सिजन प्लान्ट जडानका लागि काम अगाडि बढाइएको छ । अस्पतालमै प्लान्ट जडान भएपछि बिरामीले अक्सिजनकै लागि अन्यत्र जानुपर्ने अवस्थाको अन्त्य भएको छ।