खप्तड गोल्डकप: आज फाइनल पुग्न मनाङ र शेर्पा भिड्दै
2022/03/09, 12:07
 
aa

सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज बुधबार एक खेल हुँदैछ । धनगढी रंगशालामा हुने पहिलो सेमिफाइनल खेलमा दुई ए डिभिजन क्लब मनाङ मर्स्याङ्दी र हिमालयन शेर्पा भिड्ने छन् । मनाङ र शेर्पाबीचको खेल ३ बजेपछि सुरु हुनेछ ।

आज दुबै टोली जित निकाल्दै फाइनल पुग्न चाहन्छ । त्यसैले यस खेल रोमान्चक हुने अनुमान गरिएको छ ।मनाङ भारतको दिल्ली फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै अन्तिम चारमा पुगेको हो । हिमालयनले क्वाटरफाइनलमा साविक विजेता तथा  सुदूरपश्चिम-११ लाई २-१ गोल अन्तरले हराएको थियो । 

आयोजक  सुदूरपश्चिम-११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले एक लाख पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन् ।

प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार पाउने आयोजकले जनाएको छ ।प्रतियोगितामा टिकट दर राखिएको छ । जसमा विद्यार्थीका लागि १ सय र अन्यका लागि १ सय ५० राखिएको छ ।