कञ्चनपुर र कैलालीका पालिकाहरूसँग रेलमार्गबारे छलफल गरिएको छ। नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको रेल विभागबाट खटिएको अध्ययन टोलीले कञ्चनपुर र कैलालीका पालिकाहरूसँग रेलमार्गबारे छलफल गरेको हो।
टोलीले मेची–महाकाली रेलमार्ग आयोजना अन्तर्गत कैलालीको सुख्खडदेखि कञ्चनपुरको गड्डाचौकीसम्म ९० किलोमिटर लामो रेलमार्ग निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन प्रतिवेदनका सिलसिलामा दुवै जिल्लाका सम्बन्धित पालिकाहरूसँग छलफल गरेको छ।
कैलालीका घोडाघोडी नगरपालिका, गौरीगङ्गा नगरपालिका, धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिका तथा कञ्चनपुरका कृष्णपुर नगरपालिका, लालझाडी गाउँपालिका, शुक्लाफाँटा, वेदकोट र भीमदत्त नगरपालिकाको भूभागमा रेलमार्गका लागि वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन गरिरहेकोले ती पालिकाहरुसँग छलफल गरिएको अध्ययन टोलीका सदस्य एवं वातावरण विद् रिकेश चित्रकारले बताए।
सुक्खडदेखि गड्डाचौकीसम्म जम्मा ११ स्थानमा स्टेशन रहने बताइएको छ। उक्त रेलमार्ग पूर्वपश्चिम राजमार्गको दक्षिण करिब ३ सय मिटरदेखि १ हजार ३ सय मिटरसम्म टाढा रहने बताइएको छ। रेलमार्ग निर्माण सम्बन्धी कञ्चनपुरको लालझाडी गाउँपालिकामा छलफल कार्यक्रमको आयोजना गरिएको थियो।
वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन टोलीका सदस्य एवं वातावरण विद् चित्रकारका अनुसार विद्युतीय रेलमार्ग सञ्चालनमा आएपछि प्रतिघण्टा २ सय किलोमिटरको गतिमा रेल चल्नेछ।