खप्तड गोल्डकपको उपाधिका लागि मनाङ र फ्रेन्ड्स तयार
2022/03/11, 1:40
 
tt

पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार मनाङ मस्र्याङदी क्लब र फ्रेन्ड्स क्लब भिड्दैछन् ।

धनगढी रंगशालामा हुने फाइनल अघिको पत्रकार सम्मेलनमा दुबै टिमले उपाधि जित्ने दावी गरेका छन् ।मनाङका प्रशिक्षक राजेन्द्र तामाङले फ्रेन्ड्सविरुद्ध जितका लागि खेल्ने बताए । ‘फाइनल पुगेका छौ, हामी जितका लागि खेल्नेछौ,’ प्रशिक्षक तामाङले जनाए ।

मनाङका कप्तान अन्जन विष्टले प्रतियोगिताको सबै खेललाई फाइनल सरह नै लिएको तथा आफूहरु फाइनल खेल्न तयार रहेको बताए । ‘नकआउट प्रतियोगितामा सबै खेल फाइनल नै हो, कुनै पनि खेलमा पराजित भए बाहिरिन्छौ । हामी मुख्य फाइनलमा आएका छौ र फाइनल खेल्न तयार छौ,’ अन्जनले थपे ।  अन्जनले फाइनल खेलका लागि कुनै पनि दवाव नरहेको समेत बताए । सेमिफाइनलमा मनाङले हिमलायन शेर्पा क्लबलाई पेनाल्टीमा ४–२ ले पराजित गरेको थियो ।

अर्कोतर्फ फ्रेन्ड्सले भने बागमती युथ क्लबलाई २–१ ले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । फ्रेन्ड्स क्लब प्रशिक्षक मृगेन्द्र मिश्रले मनाङ राम्रो टिम रहेको बताएपनि जितका लागि खेल्ने जनाए ।  ‘मनाङ राम्रो टिम हो, उसले ए डिभिजन लिगमा पनि राम्रो गरेको छ । तर पनि हामी जितका लागि खेल्छौ,’ मिश्रले बताए । उनले राम्रो फुटबल प्रदर्शन गर्ने अपेक्षा रहेको उल्लेख गरे । 

सुदुरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन् ।

प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा टिकट दर राखिएको छ । जसमा विद्यार्थीका लागि १ सय र अन्यका लागि १ सय ५० राखिएको छ ।