मेयर धनगढी प्याब्सन कपको उपाधि स्टेपिङलाई
2022/03/18, 6:31
 
ss

मेयर धनगढी प्याब्सन कप विद्यालय स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि स्टेपिङ स्टोन इङ्लिस बोर्डिङ स्कुलले जितेको छ । आज सम्पन्न फाइनल खेलमा लिटल फ्लावर बोर्डिङ स्कुललाई २९ रनले पराजित गर्दै स्टेपिङ च्याम्पियन बनेको हो ।

उपाधि विजेता स्टेपिङले एक लाख एक हजार एक सय ११ रुपैंया नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको लिटल फ्लावरले ५१ हजार एक सय ११ रुपैंया नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
धनगढी स्थित प्रदेश प्रहरीको खेल मैदानमा सम्पन्न फाइनल खेलमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको स्टेपिङले निर्धातिर २० ओभरमा ६ विकेट गुमाएर १ सय ३४ रन बनायो ।

१ सय ३५ रनको विजयी लक्षसहित जवाफी ब्याटिङ थालेको लिटल फ्लावरले १७.२ ओभरमा आफ्ना सबै विकेट गुमाएर १ सय ९ रन मात्रै बनाउन सक्यो । उसका शैलेश केसीले ४६ रन बनाएर आउट भए । सचिन भट्टले १४, नरेन भट्टले १२ र पारस ऐरले १० रन बनाए । बलिङ तर्फ स्टेपिङका आर्यन दानपालीले ३.२ ओभर बलिङ गर्दै ११ रन खर्चिएर ४ विकेट लिए । अभिषेक खड्काले २ र भुपेश जोशीले १ विकेट लिए । 

त्यस अघि पहिलो इनिङमा स्टेपिङका विशाल विष्टले ५५ बलमा ४ चौकार र ४ छक्काको मद्दतले ६१ रनको अर्धशतकीए पारी खेले । उसका आर्यन दानपालीले ३६ र अभिषेक खड्काले १६ रन बनाए । बलिङ तर्फ लिटल फ्लावरका सार्थक बम र अनुराग सिंहले समान १÷१ विकेट लिए । खेलको प्लेयर अफ दी म्याच स्टेपिङका आर्यन दानपाली चुनिए । 

प्रतियोगिताकै उत्कृष्ट खेलाडी लिटल फ्लावर स्कुलका अनुराग सिंह भए । उनले नगद १० हजार सहित ट्रफि, मेडलसहित प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै उत्कृष्ट ब्याट्सम्यान शारदा माध्यमिक विद्यालयका गौरव कार्की, उत्कृष्ट बलर स्टेपिङका भुपेश जोशी र उदीयमान खेलाडी एरिस्टोका किरण देउवा भए । उनीहरूले नगद ५÷५ हजार प्राप्त गरेका छन् । प्रतियोगिताका विजेता तथा उपविजेतालाई एक कार्यक्रमकाबिच धनगढी उपमहानगरपालिकाका मेयर नृप वड, वडा नम्बर ८ का अध्यक्ष नारायण बराललगायतले पुरस्कार वितरण गरेका हुन् ।

प्याब्सन धनगढीको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा धनगढी नगर क्षेत्रका २० वटा निजी र सामुदायिक विद्यालयहरूको सहभागिता रहेको थियो ।