मुख्यमन्त्री कप यु–१९ महिला राष्ट्रिय क्रिकेटः गण्डकी प्रदेश फाइनलमा 
2022/03/23, 7:17
 
ss

गण्डकी प्रदेश कैलालीको धनगढीमा जारी मुख्यमन्त्री कप यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आफ्नो समूह चरणको अन्तिम खेलमा बुधवार मधेस प्रदेशलाई २० रनले पराजित गर्दै गण्डकी उपाधि नजिक पुगेको हो । 

फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको गण्डकीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७ रनको योगफल तयार पा¥यो । १ सय ८ रनको विजयी लक्ष्य पछ्याएको मधेस प्रदेशले २० ओभरमा ६ विकेट गुमाएर ८७ रन मात्रै बनाउन सक्यो । उसका एलिशा यादवले अविजित ३१ र साना प्रवीणले २१ रन बनाइन । बलिङ तर्फ गण्डकीकी कुसुम गोदरले २ र ज्योत्स्नीका मरासिनी तथा आकृति तिवारीले समान १÷१ विकेट लिइन । 

त्यस अघि गण्डकीका लागि ज्योत्स्नीका मरासिनीले ३४ बलमा ८ चौकाको मद्दतले ४३ रनको पारी खेलिन । उसका आङ्पेम्बलुम्बा सेर्पाले १७ रन बनाइन् । बलिङ तर्फ मधेस प्रदेशकी प्रतिमा शाह, साना प्रविन र विमला मगरले समान २÷२ विकेट लिइन । खेलको प्लेयर अफ दी म्याच ज्योत्स्नीका मरासिनी चुनिइन । 

बुधवार भएको दोस्रो खेलमा सान्त्वना जित निकालेको लुम्बिनी प्रदेशले कर्णाली प्रदेशको फाइनल यात्रामा अङ्कुश लगाइदिएको छ । यो खेल जितेको खण्डमा आफ्नो समूह चरणको एक खेल अगावै समूह विजेता बनेर कर्णाली प्रदेशलाई फाइनल प्रवेश गर्ने अवसर थियो । तर लुम्बिनी प्रदेशसँग ५ विकेटले पराजित भएको कर्णालीले अब बिहीबारको खेल कुर्नुपर्ने भएको छ । टस जितेर ब्याटिङ थालेको कर्णालीले १९.४ ओभरमा आफ्ना सबै विकेट गुमाएर ७२ रन बनायो । ७३ रनको विजयी लक्ष्य पछ्याएर जवाफी ब्याटिङ थालेको लुम्बिनीले १४.३ ओभरमै ५ विकेट गुमाएर लक्ष्य भेट्टायो । लुम्बिनीका लागि रन्जु श्रेष्ठले २९ रनको योगदान दिइन । बलिङ तर्फ कर्णालीकी अञ्जली थापा र तिर्सना विश्वकर्माले समान २÷२ विकेट लिइन । 

त्यस अघि कर्णालीका लागि किरण कुमारी कुँवरले २१ रन बनाउनु बाहेक अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकिनन् । बलिङ तर्फ लुम्बिनीलाई सान्त्वना जित दिलाउन आष्मा पुलामी मगरले ४ ओभर बलिङ गर्दै १ मेडनसहित ६ रन खर्चेर ३ महत्त्वपूर्ण विकेट लिइन । उनी खेलको प्लेयर अफ दी म्याच घोषित भइन । 

समूह चरणको अन्तिम खेलमा बिहीबार सुदूरपश्चिम र बागमती प्रतिस्पर्धा गर्नेछन् । १÷१ जित मात्रै निकालेका यी दुई टोली मध्य विजेता टोलीले कर्णाली प्रदेशसँग अङ्क बराबरी गर्नेछन् । उक्त खेल पछि रन रेटका आधारमा गण्डकी प्रदेशसँग उपाधि भिडन्त गर्ने टोलीको टुङ्गो लाग्ने छ । 

नेपाल क्रिकेट सङ्घ(क्यान) को आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले पाँच लाख र दोस्रो हुनेले तीन लाख नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा ७ प्रदेशका सात १९ वर्ष मुनीको महिला राष्ट्रिय क्रिकेट टिमका खेलाडीको सहभागिता रहेको सङ्घका प्रदेश अध्यक्ष हरि रेग्मीले बताए । प्रतियोगिताको प्रवर्द्धक सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् रहेको छ ।