मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगिताः एपिएफ र गण्डकी सेमिफाईनलमा
2022/03/24, 4:49
 
dd

कैलालीको धनगढीमा जारी ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’को सेमिफाइनल समिकरण पूरा भएको छ। बिहीबार क्वाटरफाइनलका दुई खेल भएसंगै सेमिफाइनल पुग्ने चार टिमको टुंगो लागेको हो। विभागिय टोली एपीएफ र घरेलु टोली सुदूरपश्चिमबीच बिहीबार भएको क्वाटरफाइनलको खेलमा एपीएफ विजयी भएको छ।

सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटले पराजित गर्दै एपीएफले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो। एपीएफले सुदूरपश्चिमलाई २५–१३, २५–२० र २५–१२ को सेटले पराजित गरेको हो। खेलका म्यान अफ द म्याच एपीएफका टेकराज अवस्थी भए। 

बिहीबार नै भएको अन्तिम क्वाटरफाइनलको खेलमा गण्डकी प्रदेशले बागमती प्रदेशलाई ३–० को सोझो सेटले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ। गण्डकीले बागमतीलाई २५–१५, २५–१४ र २५–१८ को सेटले पराजित गरेको हो। खेलका म्यान अफ द म्याच गण्डकी प्रदेशका हरि पाण्डेय भए। शुक्रबार सेमिफाइनलका दुई खेल हुनेछन्। फाइनल प्रवेशका लागि त्रिभुवन आर्मी क्लब र एपीएफ तथा नेपाल पुलिस क्लब र गण्डकीबीच खेल हुने आयोजक सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले जनाएको छ। 

१२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद चार लाख, उपविजेताले दुई लाख, तेस्रो हुने टोलीले एक लाख र चौथो स्थान प्राप्त गर्ने टिमले ५० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद २० हजार तथा उदयमान खेलाडी, उत्कृष्ट लिफ्टर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्सर, उत्कृष्ट सर्वर र उत्कृष्ट प्रशिक्षकलाई जनही १० हजारसहित पुरस्कृत गरिने छ। प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद एक हजार पाँच सय नगदसहित पुरस्कृत गरिनेछ।