मुख्यमन्त्री कप यु–१९ महिला राष्ट्रिय क्रिकेटः सुदूरपश्चिमलाई रन रेटमा पछि पार्दै कर्णाली फाइनलमा 
2022/03/24, 6:27
 
dd

कैलालीको धनगढीमा जारी मुख्यमन्त्री कप यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई नेट रन रेटमा पछि पार्दै कर्णाली प्रदेश फाइनल प्रवेश गरेको छ । सुदूरपश्चिमले आज बागमती प्रदेशलाई ६ विकेटले पराजित गर्दै कर्णालीसँग अङ्क बराबरी गरेको थियो । तर नेट रन रेटमा कर्णालीसँग पछि परेको सुदूरपश्चिम उपाधि होडबाट बाहिरिएको छ । 

फाप्ला क्रिकेट मैदानमा बिहीबार भएको खेलमा सुदूरपश्चिमले बागमतीमाथि ६ विकेटको जित दर्ता ग¥यो । टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले १८.३ ओभरमा आफ्ना सबै विकेट गुमाएर ८२ रन बनाएको थियो । ८३ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिमले ११ ओभरमै ४ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

सुदूरपश्चिमको जितमा सावित्री धामीले अविजित २३ र यशोदा विष्टले अविजित १८ रन बनाइन् । त्यस अघि बागमतीका लागि हेलिशा गुरुङले २२ रन बनाइन् । उसलाई १८.३ ओभरमै रोक्न सुदूरपश्चिमका स्नेहा महरा, अनु खडायत र यशु पाण्डेयले समान २÷२ विकेट लिइन । खेलेको प्लेयर अफ दी म्याच सुदूरपश्चिमकी सावित्री भइन् । 

बुधवार लुम्बिनीसँग पराजित भए पनि सुदूरपश्चिमलाई रन रेटमा पछि पारेर फाइनल पुगेको कर्णालीले अब शुक्रबार उपाधिका लागि गण्डकीसँग प्रतिस्पर्धा गर्ने छ । गण्डकी यस अघि नै मधेस प्रदेशलाई पराजित गर्दै फाइन प्रवेश गरिसेकेको छ । 

नेपाल क्रिकेट सङ्घ(क्यान) को आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले पाँच लाख र दोस्रो हुनेले तीन लाख नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा ७ प्रदेशका सात १९ वर्ष मुनीको महिला राष्ट्रिय क्रिकेट टिमका खेलाडीको सहभागिता रहेको सङ्घका प्रदेश अध्यक्ष हरि रेग्मीले बताए ।

११ गतेसम्म चल्ने प्रतियोगिताको प्रवर्द्धक सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् रहेको छ ।