धनगढी हाफ म्याराथन २०२२ को तयारी पुरा
2022/04/07, 6:30
 
dd

 ‘अब धनगढी दौडिन्छ’  भन्ने मूल नाराका साथ चैत २६  गते हुने मुख्यमन्त्री जेसीज एभरेस्ट धनगढी हाफ म्याराथन  २०२२ को तयारी पुरा भएको छ । नयाँ वर्ष २०७९ को पूर्व सन्ध्यामा ‘अब धनगढी दौडिन्छ’ को आठौँ संस्करणको तयारी पुरा भएको  आयोजक धनगढी जेसीजले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।

प्रतियोगिताका संयोजक महेश्वर ओझाले प्रत्येक वर्षजस्तै यो वर्ष पनि हाफ म्याराथन प्रतियोगिता आयोजना गरिन लागेको बताए । धनगढी रङ्गशालाबाट सुरु हुने दौड प्रतियोगितामा  म्याराथनको खुला दौडका अन्तरगत २१.१ किमी दौड प्रथमलाई नगद ५५ हजार पाँच सय ५५, द्वितीयलाई ३३ हजार तिन सय ३३ र तृतीयलाई २२ हजार दुई सय २२ नगद पुरस्कार राखिएको छ ।

यस्तै कर्पोरेट र मिडिया तर्फको ५ किमी दौडमा प्रथमलाई पाँच हजार पाँच सय ५५, द्वितीयलाई तिन हजार तिन सय ३३ र तृतीयलाई दुई हजार दुई सय २२ नगद पुरस्कार राखिएको छ ।महिला तर्फ ५ किमी दौडमा प्रथमलाई पाँच हजार पाँच सय ५५, द्वितीयलाई तिन हजार तिन सय ३३ र तृतीयलाई दुई हजार दुई सय २२ नगद पुरस्कार राखिएको मूल आयोजक समितिका संयोजक ओझाले जानकारी दिए ।

विद्यार्थी तर्फ ५ किमी दौडमा प्रथमलाई पाँच हजार पाँच सय ५५, द्वितीयलाई तिन हजार तिन सय ३३ र तृतीयलाई दुई हजार दुई सय २२ नगद पुरस्कार राखिएको  छ ।यस्तै टाई साइकल रेस पनि गरिने जानकारी दिएका छन् ।

टाई साइकल रेसमा सहभागीलाई सम्मान सहित पुरस्कार दिइने जनाएको छ । हाफ म्याराथनमा सहभागी हुनेलाई  विद्यार्थीलाई २ सय र अन्यको लागि ३ सय रुपैयाँ आवेदन शुल्क कायम गरिएको छ । धावकमा सहभागीमध्ये गोला प्रथाबाट एक जनालाई आकर्षक पुरस्कार दिइने आयोजकले जनाएको छ ।

धनगढी जेसिसका अध्यक्ष भुवन पाण्डेले चुवाव लगायत विभिन्न कारणले यस वर्ष प्रतियोगिता अघि सार्नु परेको बताए । बिगतमा बैशाख १ गते धनगढी हाफ म्याराथन हुदैँ आइरहेको थियो ।