कुस्तीमा कञ्चनपुरकी सिंहलाई स्वर्ण
2022/04/09, 5:47
 
ss

कञ्चनपुरकी कुस्ती खेलाडी मनिषा सिंहले बाँकेमा आयोजित राष्ट्रिय महिला तथा पुरुष कुस्ती प्रतियोगितामा स्वर्ण जितेकी छन्। बाँके कुस्ती सङ्घले आयोजना गरेको उक्त प्रतियोगिताको फाइनलमा ५५ किलोतौल समूहमा लुम्बिनी प्रदेशकी सिर्जना चन्दलाई पराजित गर्दै सिंहले स्वर्ण जितेकी हुन्।

यसअघि १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता ९साग० मा सिंहले कुस्तीमा कास्य पदक जितेकी थिइन्। कञ्चनपुरका कुस्ती प्रशिक्षक राजेन्द्र चन्दले बाँकेको डुडुवा गाउँपालिकामा आयोजित राष्ट्रिय कुस्तीमा सुदूरपश्चिमका खेलाडीले एक स्वर्णसहित पदक जितेको बताए।

“दुई वटा महिला र दुई पुरुष तौल समूहमा मात्रै खेलाडीलाई सहभागी गराइएको थियो”, उनले भने, “हरेक राष्ट्रिय प्रतियोगितामा हामीले स्वर्ण नजितेको इतिहास छैन।” त्यसैगरी उक्त प्रतियोगितामा ६५ किलोतौल समूहमा लक्ष्मी भट्टले रजत र विमला सुनारले कास्य जितेका छन्। पुरुषतर्फ ८६ किलोतौल समूहमा कृष्ण यादवले रजत पदक दिलाएको प्रशिक्षक चन्दले बताए। प्रतियोगितामा सात प्रदेश र दुई विभागीय टिम सहभागी थिए।

नौ वटा जिल्ला रहेको सुदूरपश्चिम प्रदेशमा कञ्चनपुरको महेन्द्रनगरमा मात्रै कुस्तीको प्रशिक्षण हुन्छ। नेपाली कुस्ती इतिहासमै पहिलो पटक यहाँकी खेलाडी सङ्गीता धामीले १३औँ सागमा पहिलो स्वर्ण दिएकी थिइन्।