कैलालीको दुई ठाउँमा वनस्पति संरक्षण 
2022/04/11, 10:44
 
aa

 वनस्पति अनुसन्धान केन्द्र कैलालीले यो जिल्लामा दुई स्थानमा वनस्पतिको संरक्षण गरिरहेको छ । केन्द्रले धनगढी उपमहानगरपालिका–७ को देवहरिया वनस्पति उद्यान र गोदावरी नगरपालिकाको गोदावरीस्थित संरक्षण क्षेत्रमा वनस्पतिको संरक्षण गर्दै आएको हो ।

१४९।५ हेक्टर क्षेत्रफलमा रहेको सो उद्यानमा विजयसाल, लौठसल्ला, बेंत, वनमूला, खयर, सुनाखरीको स्वस्थानीय संरक्षण भइरहेको केन्द्रका प्रमुख गङ्गादत्त भट्टले बताए ।  उनले वनस्पति उद्यान बनाउका लागि संरक्षण, अध्ययन, अनुसन्धान र पुनःउत्पादन आवश्यक रहेको उल्लेख गर्दै देवहरिया उद्यानको राम्रोसंग संरक्षण भएमा यो यहाँको प्रमुख सौन्दर्य स्थल बन्ने बताए ।

यसैगरी, केन्द्रले कैलालीको गोदावरीमा पनि १०।६ हेक्टर जमिनमा गोदावरी संरक्षण क्षेत्र बनाएर वनस्पतिको संरक्षण गर्दै आएको छ । कैलालीमा हालसम्म ८६९ प्रजातिका वनस्पति पाइएको तथ्याङ्क छ । जसमध्ये ८१२ प्रजातिको फूल फुल्ने र ५७ उन्यू प्रजाति रहेको भट्टले बताए । यो जिल्लामा ५०२ प्रजातिका वनस्पतिलाई स्थानीयले परम्परागत ज्ञान र सीपका आधारमा प्रयोग गर्दै आएका केन्द्रले जानकारी दिएको छ ।

परम्परागत ज्ञान र सीप धेरै राम्रो रहेको र त्यो हराउन नहुने वनस्पति अनुसन्धान केन्द्र भट्टले बताए । नेपालमा हालसम्म एक हजार १२३ प्रजातिका झ्याउ, दुई हजार ४६७ प्रजातिका च्याउ तथा ढुसी पाइने गरेको छ । नेपालमा च्याउमात्रै एक हजार २९१ प्रजातिका पाइने गरेको छ । जसमध्ये ३४ प्रजातिको च्याउ नेपालमामात्रै पाइने गर्दछ । नेपालमा पाइने जम्मा च्याउमध्ये १५९ प्रजातिका च्याउ खान मिल्ने रहेको प्रमुख भट्टले जानकारी दिए ।

एक सय प्रजातिका च्याउ भने खान नहुने, विषालु रहेको जनाइएको छ । खास गरेर कमिला वा कीराले खाएको च्याउ देखिन्छ भने त्यो खान योग्य रहने गरेको उनले बताए । ‘तर, हेर्नमा राम्रो देखिने, कमिला वा कीराले नखाएको चम्किलो च्याउ देखिएमा हामीले छुनु पनि हुन्न । ज्यानै जान सक्छ’, भट्टले भने । यसैगरी, नेपालमा ९९८ प्रजातिका लेउ, ५८२ प्रजातिका न्यूरो तथा उन्यू, कोणधारी वनस्पति २८, लालीगुराँस ३२ र फूल फुल्ने पाँच हजार ३०९ प्रजातिका वनस्पति पाइने गरेको जनाइएको छ । फूल फुल्नेमध्ये ३१२ प्रजाति नेपालमामात्रै पाइने गरेको केन्द्रले जानकारी दिएको छ । 

नेपालमा सबैभन्दा पहिले पत्ता लागेको वनस्पति मगर काँचे ९बेगोनिया पिक्टा० हो । सन १८०२ जलाई २१ मा नारायणहिटी आसपासमा बुखानन् हेमिल्टन नामका विदेशीले मगर काँचेलाई सङ्कलन गरेका थिए । सन १८०५ मा जेम्स इडवार्ड स्मीथले मगर काँचेको वैज्ञानिक पुष्ट्याइँका साथ नामाकरण गरेका थिए । 

नेपालमा पाइने वनस्पतिको सदुपयोग गर्न सकिएमा धेरै फाइदा हुने वनस्पति अनुसन्धान केन्द्र कैलालीका वैज्ञानिक अधिकृत मदनराज भट्टले बताए । ‘तर, हाम्रो देशबाट कच्चा पदार्थको रुपमा थोरैमात्रै जडिबुटी बाह्य देशमा गइरहेको छ’, उनले भने । ‘थुप्रै जडिबुटी भए पनि हामीले त्यसबाट फाइदा लिन सकेका छैनौं ।’ 

सुदूरपश्चिममा लौठसल्ला प्राय सबै जिल्लामा रहेको केन्द्रले जानकारी दिएको छ । लौठ सल्ला क्यान्सरको उपचारमा प्रयोग हुने गरेको जनाइएको छ । खास गरेर लौठ सल्ला पाठेघर र स्तन क्यान्सरका बिरामीका लागि निकै लाभदायक रहेको केन्द्रले जानकारी दिएको छ ।