धनगढीमा महिला गोल्डकप फुटबल प्रतियोगिता सुरु, विभागीय टिम नेपाल पुलिस क्लबको विजयी सुरुवात
2022/04/17, 11:06
 
ss

कैलालीको धनगढीमा प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । वनदेवी युवा क्लबको आयोजनमा सुरु भएको प्रतियोगिता अन्तर्गत उद्घाटन खेलमा विभागीय टिम नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ । 

धनगढी रङ्गशालामा भएको खेलमा चन्द्रपुर नगरपालिका रौतहटलाई १–० गोल अन्तरले पराजित गर्दै नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा रहँदा दोस्रो हाफको ५९ औँ मिनेटमा रेखा पौडेलले गोल गर्दै पुलिसलाई अग्रता दिलाईन ।

निर्धारित ९० मिनेटको खेलमा चन्द्रपुरका तर्फबाट कुनै पनि गोल हुन नसकेपछि रेखाको गोल नै निर्णायक गोल बन्यो । वैशाख १० गतेसम्म सञ्चालन हुने गोल्डकपमा ३ विभागीय सहित ८ टिमको सहभागिता रहेको छ । गोल्डकपको विजयी टिमले ट्रफी सहित नगद ५ लाख र उपविजेताले ट्रफीसहित २ लाख ५० हजार रुपैयाँ पुरस्कार राशि प्राप्त गर्नेछ ।

प्रतियोगितामा ओम्यान अफ दी म्याचलाई ५ हजार, त्यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १० हजार र प्रतियोगिता भरी उत्कृष्ट हुने खेलाडीले नगद ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सुसन जोशीले बताए ।

धनगढीमा दिउँसो अत्यधिक गर्मी हुने भएकोले पहिलो पटक रात्रिकालीन प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको एक कार्यक्रमकाबिच मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरे ।