मुख्यमन्त्री विवाईसी महिला गोल्डकपः आर्मी सेमिफाईनलमा 
2022/04/17, 8:33
 
ss

कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल आर्मी क्लब सेमिफाईनल प्रवेश गरेको छ । धनगढी रंगशालामा आईतबार साँझ भएको खेलमा वागमति युवा क्लबलाई ७–० ले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो । 

अधिकांश समय बल आफ्नो कब्जामा राखेको आर्मीले पहिलो हाफमा चार गोल गर्यो भने दोस्रो हाफमा तीन गोल थप्यो । आर्मीका लागि पहिलो हाफको १७ औं मिनेटमा ईन्दिरा राई, २९ औं मिनेटमा अमिषा कार्की र ३९ औं मिनेटमा दीपा शाहीले गोल गरिन् । पहिलो हाफको २८ औ मिनेटमा आर्मी आत्मघाती गोल उपहार पायो । वागमतिकी सुस्मिता तामाङले आत्मघाती गोल गरिन् । 

दोस्रो हाफमा आर्मीले तीन गोल थप्दा कुसुम खतिवडाले दुई गोल गरिन् । उनले खेलको ४९ औं र ६० औं मिनेटमा गोल गरिन् । दोस्रो गोल पेनाल्टी मार्फत भएको हो । त्यस्तै व्यक्तीगत दोस्रो गोल गर्ने क्रममा आर्मीकी अमिषा कार्कीले खेलको ९० औं मिनेटमा गोल थपिन् । नेपाल आर्मी क्लबले सेमिफाईनलमा नेपाल एपिएफ क्लब र विराटनगर महानगरपालिका बीचको विजेतासँग खेल्नेछ । 

वनदेवी युवा क्लबको आयोजनमा भईरहेको प्रतियोगिता अन्तर्गत शनिबार भएको उद्घाटन खेलमा जित हात पार्दै विभागीय टीम नेपाल पुलिस क्लब सेमिफाईनल पुगिसकेको छ । समुह ए मा रहेको पुलिसले सेमफाईनलमा आयोजक वनदेवी युवा क्लब र कालिका स्पोर्टस एकेडेमी चितवनको विजेतासँग खेल्नेछ । सोमबार विभागीय टीम नेपाल एपिएफ क्लब र विराटनगर महानगरपालिका प्रतिस्पर्धा गर्नेछन् । खेल निशुल्क रुपमा हेर्न पाईनेछ । 


वैशाख १० गतेसम्म सञ्चालन हुने गोल्डकपमा ३ विभागीय सहित ८ टिमको सहभागिता रहेको छ । गोल्डकपको विजयी टिमले ट्रफी सहित नगद ५ लाख र उपविजेताले ट्रफी सहित २ लाख ५० हजार रुपैयाँ पुरस्कार राशि प्राप्त गर्नेछ ।

प्रतियोगितामा ओम्यान अफ दी म्याचलाई ५ हजार, त्यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १० हजार र प्रतियोगिता भरी उत्कृष्ट हुने खेलाडीले नगद ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सुसन जोशीले बताए । धनगढीमा दिउँसो अत्यधिक गर्मी हुने भएकोले पहिलो पटक रात्रिकालीन प्रतियोगिता आयोजना गरिएको हो ।