मुख्यमन्त्री विवाईसी महिला गोल्डकपः एपिएफ र विराटनगर भिड्दै 
2022/04/18, 4:09
 
dd

कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत सोमवार तेस्रो दिन विभागीय टीम नेपाल एपिएफ क्लब र विराटनगर महानगरपालिका भिड्ने भएका छन् ।

आजको खेलको विजेता टोली सेमिफाईनल पुग्नेछ । खेल निशुल्क रुपमा हेर्न पाईनेछ । धनगढी रंगशालामा साँझ साढे ६ बजे खेल हुनेछ । यो खेलको विजेताले सेमिफाईनलमा नेपाल आर्मी क्लबको सामना गर्नेछ ।

वनदेवी युवा क्लबको आयोजनमा भईरहेको प्रतियोगिता अन्तर्गत मंगलबार आयोजक वनदेवी युवा क्लब र कालिका स्पोर्टस एकेडेमी चितवन प्रतिस्पर्धा गर्नेछन् । यो खेलको विजेताले सेमिफाईनलमा विभागीय टीम नेपाल पुलिस क्लबको सामना गर्नेछ । 

वैशाख १० गतेसम्म सञ्चालन हुने गोल्डकपमा ३ विभागीय सहित ८ टिमको सहभागिता रहेको छ । गोल्डकपको विजयी टिमले ट्रफी सहित नगद ५ लाख र उपविजेताले ट्रफी सहित २ लाख ५० हजार रुपैयाँ पुरस्कार राशि प्राप्त गर्नेछ । 

प्रतियोगितामा ओम्यान अफ दी म्याचलाई ५ हजार, त्यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १० हजार र प्रतियोगिता भरी उत्कृष्ट हुने खेलाडीले नगद ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सुसन जोशीले बताए । धनगढीमा दिउँसो अत्यधिक गर्मी हुने भएकोले पहिलो पटक रात्रिकालीन प्रतियोगिता आयोजना गरिएको हो ।