मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिता सुरुः आर्मी र सुदुरपश्चिम सेमिफाईनलमा 
2022/04/18, 8:58
 
dd

मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिता सुरु भएको छ । अखिल नेपाल कबड्डी संघको आयोजनामा धनगढीमा राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिता सुरु भएको हो । सुदुरपश्चिम खेलकुद परिषद् मुख्य प्रबद्र्धक रहेको प्रतियोगिता देशकै सर्वाधिक धनराशीको प्रतियोगिता हो । 

पहिलो दिन भएका खेलमा जित हात पार्दै विभागीय टोली नेपाल आर्मी क्लब र सुदुरपश्चिम प्रदेश सेमिफाईनलमा प्रवेश गरेका छन् । नेपाल आर्मी र सुदुरपश्चिम प्रदेशले पहिलो दिनका दुबै खेलमा जित हात पार्दै अन्तिम चारमा स्थान बनाएका हुन् । दुबै टोली बीचको खेलको नतिजाले समुह विजेता र उपविजेताको टुंगो लगाउनेछ । 

सोमबार भएको पहिलो खेलमा नेपाल आर्मीले गण्डकी प्रदेशलाई ९१–३२ ले हरायो भने पाँचौ खेलमा कर्णाली प्रदेशलाई ६९–९ ले किनारा लगायो । तेस्रो खेलमा सुदुरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई ६६–२७ ले हराउँदा छैठौं खेलमा गण्डकी प्रदेशलाई ५६–१८ ले हरायो । सोमबार नै भएका खेलमा नेपाल एफिएफ क्लब मधेस प्रदेश पनि विजयी भएका छन् । नेपाल एपिएफ क्लबले लुम्बिनी प्रदेशलाई ५३–२२ ले हरायो भने मधेश प्रदेशले बागमति प्रदेशलाई ३६–२९ ले किनारा लगायो । 

प्रतियोगितामा मंगलबार पनि लिग चरणका खेलहरु हुनेछन् । प्रतियोगिता लिगकम नकआउटका आधारमा सञ्चालन भईरहेको छ । 
प्रतियोगिताको विजेताले नगद एक लाख ५० हजार उपविजेताले नगद ८० हजार र सेमिफाईनल पुगेका दुई टोली नगद ४० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र पाउनेछ । 

यसअघि आज नै प्रतियोगिताको सुदुरपश्चिम प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री टेकवहादुर रैकाले उद्घाटन गरेका थिए ।