मुख्यमन्त्री विवाईसी महिला गोल्डकपः सावित्राको ह्याट्रिक प्रेरित एपिएफ सेमिफाईनलमा 
2022/04/18, 9:00
 
dd

सावित्रा भण्डारीको ह्याट्रिक प्रेरित विभागीय टोली नेपाल एपिएफ क्लब कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाईनलमा पुगेको छ । सोमवार तेस्रो दिन विराटनगर महानगरपालिकालाई ८–० को फराकिलो अन्तरले हराउँदै विभागीय टीम नेपाल एपिएफ क्लब अन्तिम चारमा पुगेको हो । सेमिफाईनलमा अव एपिएफले अर्को विभागीय टोली नेपाल आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । 

एपिएफको सानदार जितमा सावित्रा भण्डारीले ह्याट्रिक सहित पाँच गोल गरिन् । त्यस्तै अनिता बस्नेत सविता राना मगर र सरु लिम्बुले एक एक गोल गरिन् । पहिलो हाफको ३६ औं मिनेटमा पहिलो गरेकी सावित्राले खेलको ५१ औं मिनेटमा दोस्रो ७४ औं मिनेटमा तेस्रो ७९ औं मिनेटमा चौथो र ९० औं मिनेटमा पाँचौ गोल गरिन् । अनिताले खेलको ६२ औं मिनेटमा सरुले ७५ औ मिनेटमा र सविताले ८९ औं मिनेटमा गोल गरिन् । खेलमा पाँच गोल गरेकी एपिएफकी सावित्रा भण्डारी ओम्यान अफ द म्याच भईन् । 

वनदेवी युवा क्लबको आयोजनमा भईरहेको प्रतियोगिता अन्तर्गत मंगलबार आयोजक वनदेवी युवा क्लब र कालिका स्पोर्टस एकेडेमी चितवन प्रतिस्पर्धा गर्नेछन् । यो अन्तिम क्वाटरफाईल खेल हो । यो खेलको विजेताले सेमिफाईनलमा विभागीय टीम नेपाल पुलिस क्लबको सामना गर्नेछ । 

वैशाख १० गतेसम्म सञ्चालन हुने गोल्डकपमा ३ विभागीय सहित ८ टिमको सहभागिता रहेको छ । गोल्डकपको विजयी टिमले ट्रफी सहित नगद ५ लाख र उपविजेताले ट्रफी सहित २ लाख ५० हजार रुपैयाँ पुरस्कार राशि प्राप्त गर्नेछ ।

प्रतियोगितामा ओम्यान अफ दी म्याचलाई ५ हजार, त्यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १० हजार र प्रतियोगिता भरी उत्कृष्ट हुने खेलाडीले नगद ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सुसन जोशीले बताए । धनगढीमा दिउँसो अत्यधिक गर्मी हुने भएकोले पहिलो पटक रात्रिकालीन प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको मुख्य प्रबद्र्धकमा सुप प्रदेश खेलकुद परिषद रहेको छ ।