मुख्यमन्त्री विवाईसी महिला गोल्डकपः पुलिस फाईनलमा  
2022/04/21, 8:33
 
11

विभागीय टोली नेपाल पुलिस क्लब कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको फाईनलमा पुगेको छ । विहीवार छैठौं दिन धनगढी रंगशालामा भएको दोस्रो सेमिफाईनल खेलमा आयोजक वनदेवी युवा क्लबलाई हराउँदै पुलिसले फाईनलमा एपिएफसँगको भेट पक्का गरेको हो । पुलिसले वनदेवीमाथि ३–० को अन्तरले हराएर फाईनलको यात्रा तय गरेको हो । 

पुलिसलाई फाईनलमा पुराउनका लागि निर्मला विकले दुई गोल र रेखा पौडेलले एक गोल गरिन् । पहिलो हाफ गोल रहित बराबरी खेलेको पुलिसले दोस्रो हाफको ४ मिनेटमा अग्रता कायम गर्यो । खेलको ४९ औं मिनेटमा गोल गर्दै निर्मलाले पुलिसलाई अग्रता दिलाईन् । ५६ औं मिनेटमा रेखाले गोल गर्दै अग्रता दोब्बर पारिन् । खेलको ६५ औं मिनेटमा निर्मलाले व्यक्तीगत गोल गर्दै पुलिसलाई तीन गोलको स्पष्ट अग्रता दिलाईन् । त्यसपछि कुनै पनि टीमले गोल गर्न सकेन् । र पुलिस सानदार जित सहित फाईनल पुग्न सफल भयो । 

खेलमा उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरेकी पुलिसकी निर्मला विक प्लेयर अफ द म्याच भईन् । उनले नगद ५ हजार सहित ट्रफी पाईन् । वनदेवी युवा क्लबको आयोजनमा भईरहेको प्रतियोगिता अन्तर्गत शनिबार फाईनल खेल हुनेछ । फाईनल खेल शनिबार साँझ साढे ६ बजे दुई विभागीय टोली एफिएफ र पुलिस भिड्नेछन् । 

वैशाख १० गतेसम्म सञ्चालन हुने गोल्डकपमा ३ विभागीय सहित ८ टिमको सहभागिता रहेको छ । गोल्डकपको विजयी टिमले ट्रफी सहित नगद ५ लाख र उपविजेताले ट्रफी सहित २ लाख ५० हजार रुपैयाँ पुरस्कार राशि प्राप्त गर्नेछ ।

प्रतियोगितामा ओम्यान अफ दी म्याचलाई ५ हजार, त्यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १० हजार र प्रतियोगिता भरी उत्कृष्ट हुने खेलाडीले नगद ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सुसन जोशीले बताए । धनगढीमा दिउँसो अत्यधिक गर्मी हुने भएकोले पहिलो पटक रात्रिकालीन प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको मुख्य प्रबद्र्धकमा सुप प्रदेश खेलकुद परिषद रहेको छ ।