मुख्यमन्त्री विवाईसी महिला गोल्डकपः एपिएफलाई पुलिसको चुनौती   
उपाधि जित्ने दुबै टीमको दाबी
2022/04/22, 3:48
 
apsari

कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि विभागीय टोलीहरु एपिएफ क्लब र नेपाल पुलिस क्लब शनिबार भिड्दै छन् । धनगढी रंगशालामा शनिबार साँझ हुने फाईनलमा दुबै टोली उपाधिका लागि भिड्न लागेका हुन् । 

वनदेवी युवा क्लबको आयोजना वैशाख ३ गतेदेखि सुरु भएको प्रतियोगिताको उपाधि जित्ने दुबै टीमले दाबी गरेका छन् । शुक्रबार धनगढी रंगशालामा भएको प्रि म्याच कन्फ्रेन्समा फाईनलिष्ट दुबै टोलीका कप्तान र प्रशिक्षकले उपाधि जित्ने दावी गरेका हुन् । उत्कृष्ट लयमा रहेको एपिएफकी कप्तान अनिता बस्नेतले फाईनल जित्नका लागि खेल्ने बताईन् । उनले रातीको समयमा खेल्दा केही कठिनाई भएको भएपनि उपाधि आफ्नो टीमले जित्ने दावी गरिन् । 

‘पहिलो पटक लाईटमा खेल्दा आउने समस्याले गाहे भईरहेको छ । कुनै वेला लाईट विग्रिदा खेलको रिदम विग्रने समस्या छ ।’ कप्तान बस्नेतले भनिन्–‘सात बर्षपछि फाईनल पुगेका छौं । महिला गोल्डपक पहिलो पटक भएको हुँदा जसले हामी सबैलाई उत्साहित बनाएको छ । हामी च्याम्पीयन हुन्छौ । त्यही हिसाबको तयारी छ । एपिएफएका प्रशिक्षक जनकसिंह थारुले पनि जित्नको लागि खेल्ने बताए ।‘लिगमा पनि लगातार जितिरहेका छौं । नकआउट प्रतियोगिता पनि जित्छौं ।’ प्रशिक्षक थारुले भने–‘हामीले पुलिसलाई हराउँदै आएका छौं । फेरि हराएर उपाधि जित्छौं ।’ एपिएफल सेमिफाईनलमा आर्मीलाई ३–२ ले हराएको थियो भने क्वाटरफाईनलमा विराटनगर महानगरपालिकालाई ८–० को फराकिलो अन्तरले हराएको थियो । 

नेपाल पुलिस क्लबले पनि उपाधि जित्ने दावी गरेको छ । लामो समयपछि प्रतियोगिताहरुको फाईनलमा पुगेकोले सोही अवसरलाई मौकामा बदल्ने पुलिसको दाबी छ । पुलिसकी कप्तान घिमकुमारी गुरुङले पनि जित्नको लागि खेल्ने बताईन् । ‘जित्नको लागि खेल्छौं । सबै जनाले त्यही अनुसार तयारी गरेका छौं ।’ कप्तान  गुरुङले भनिन्–‘लाईटमा नयाँ अनुभव लिईरहेका छौं । रमाईलो पनि भईरहेको छ । दिउँसो खेलेको भए गर्मी हुन्थ्यो । राती हुँदा सजिलो पनि भएको छ ।’

पुलिसका प्रशिक्षक संजीव जोशीले पनि जित्नकै लागि फाईनल खेल्ने बताए । ‘धेरै बर्षपछि फाईनल पुगेका छौं । जित्नको लागि खेल्छौं ।’ प्रशिक्षक जोशीले भने–‘मैदानमा केही समस्या छ । बललाई चाहे अनुसार खेलाउन गाहे भईरहेको छ । नयाँ फर्मेन्स अनुसार टीमले पनि प्रगति पाईरहेको छ । राम्रै नतिजा आउँछ ।’ पुलिसले सेमिफाईनलमा आयोजक वनदेवी युवा क्लबलाई ३–० को अन्तरले हराएको थियो भने क्वाटरफाईनलमा चन्द्रपुर नगरपालिकालाई १–० ले हराएको थियो । 

शनिबार धनगढी रंगशालामा समापन हुने गोल्डकपको विजेताले ट्रफी सहित नगद ५ लाख र उपविजेताले ट्रफी सहित २ लाख ५० हजार रुपैयाँ पुरस्कार राशि प्राप्त गर्नेछ । प्रतियोगितामा ओम्यान अफ दी म्याचलाई ५ हजार, त्यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १० हजार र प्रतियोगिता भरी उत्कृष्ट हुने खेलाडीले नगद ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सुसन जोशीले बताए । धनगढीमा दिउँसो अत्यधिक गर्मी हुने भएकोले पहिलो पटक रात्रिकालीन प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको मुख्य प्रबद्र्धकमा सुप प्रदेश खेलकुद परिषद रहेको छ ।