मुख्यमन्त्री विवाईसी महिला गोल्डकपः पुलिस च्याम्पीयन
2022/04/23, 10:55
 
ss

नेपाल पुलिस क्लबले कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाईनलमा विभागीय नेपाल एपिएफ क्लबलाई हराउँदै नेपाल पुलिस क्लबले उपाधि जितेको हो । 

वनदेवी युवा क्लबको आयोजना भएको प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस फुटबल क्लबले सशस्त्र प्रहरी बलको एपिएफको दबदबा तोड्दै प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप प्रतियोगिताको उपाधि जितेको हो । फाइनलमा एपिएफलाई १–० ले पराजित गर्दै पुलिसले उपाधि चुमेको हो ।

पुलिसको जितमा निर्मला विकले इन्जुरी समयमा निर्णायक गोल गरिन् । उनी फाईनलको प्लेयर अफ द म्याच पनि भईन् । उपाधिसँगै पुलिसले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । यस्तै, उपविजेतामा सीमित एपिएफले दुई लाख ५० हजार रुपैयाँमा चित्त बुझायो । प्रतियोगितामा नेपाल पुलिस क्लबकी निर्मला विक सर्वोकृष्ट खेलाडी भईन् ।

उनले नगद ५० हजार सहित ट्रफी प्राप्त गरिन् । प्रतियोगिताका अधिकांश विधामा पुलिसकै दबदबा रह्यो । पुलिसकी पुजा राना उत्कृष्ट रक्षक, उषा नाथ उत्कृष्ट गोलरक्षक र सन्जिव जोशी उत्कृष्ट प्रशिक्षक भए । एपिएफकी सावित्रा भण्डारी सर्वाधिक गोलकर्ता र सरु लिम्बु उत्कृष्ट मिडफिल्डर भईन् । उनीहरुले जनही १० हजार सहित ट्रफी पाएका छन् । 

विजयी खेलाडीहरुलाई एक कार्यक्रमबा बीच पुरस्कार वितरण गरिएको छ । वनदेवी युवा क्लबा अध्यक्ष सुसन जोशीको अध्यक्षतामा भएको समापन समारोहका प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश सरकारका भौतिक पुर्वाधार मन्त्री दिर्घवहादुर सोडारी रहेका थिए । विजयी खेलाडीहरुलाई सुदुरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश रावल, सुदुरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव दिपकवहादुर सिंह, ओलम्पीयन दिपक विष्ट लगायतले पुरस्कार वितरण गरे । 

वैशाख ०३ गतेदेखि सुरु भएको प्रतियोगितामा तीन विभागीयसहित कुल आठ टोलीको सहभागिता थियो । धनगढीमा दिउँसो अत्यधिक गर्मी हुने भएकोले पहिलो पटक रात्रिकालीन प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिता शनिबार राति १० बजे सम्पन्न भएको थियो । प्रतियोगिताको मुख्य प्रबद्र्धकमा सुप प्रदेश खेलकुद परिषद रहेको थियो ।