विगतको मूल्याङ्कन गरेर मत दिने पक्षमा मतदाता
2022/05/04, 4:03
 
ss

कैलालीको टीकापुर नगरपालिका–७ का रामप्रसाद जैसी एउटा बेरोजगार युवा हुन् । उनको रोजगारीको आधार भारत हो । केही समय अगाडि मात्रै नेपाल आएका रामप्रसाद केही समयपछि रोजगारीकै लागि भारत जाने मनस्थितिमा छन् ।

आफ्नो क्षेत्रमा कुनै अवसर नै नदेख्नुभएका उहाँ अहिले विगतको जस्तो गल्ती गर्ने पक्षमा छैनन् ।“हामीले हिजो के गर्यौं भनेर सम्झिन सकिन्छ तर, त्यसै गल्तीलाई दोहोराउन भने होइन । पार्टी जोसुकै होस्, हामीले व्याक्तिलाई चुन्न सकिँदैन भने त्यसबाट यसपछिको पाँच वर्ष पनि भारतमै बिताउनुपर्ने छ”, उनले भने, “श्रम गर्न सक्ने युवा बाहिर पलायन हुँदा आज हामीले सोचेको समाज निर्माण गर्न सकेका छैनौंँ । यसमा नेतृत्वको ठूलो दोष छ । 

नेतृत्वले आफ्नो क्षेत्रका सम्भावनालाई पहिचान गरी रोजगारीमा युवालाई जोड्न सकेको खण्डमा मात्रै हामी आफ्नै गाउँमा बस्न सक्छौँ र समृद्ध समाजको निर्माण हुनसक्छ । २०६४ सालबाट प्रत्येक निर्वाचनमा आफूले मतदान गरेको उल्लेख गर्दै उनले अहिलेसम्म गरेको मतदानको उपलब्धि कुनै नदेखिएको बताए । निर्वाचन पहिला सबै आफ्नै सम्झनेहरुले निर्वाचन जितेर नेतृत्वमा पुगेपछि आफ्नालाई मात्रै सम्झने परम्पराका कारण पनि खिन्नता आएको रामप्रसादको भनाइ छ ।

टीकापुर नगरपालिका–१ का सुरवीर चौलागाईं व्यवसाय गर्दैआउका छन् । उमेरले ६५ माथि भइसकेका उनले निर्वाचन जनताको लागि नभइ राजनीति गर्नेका लागि मात्रै आउने गरेको बताए । साइकलमा मौसमानुसारको कपडा बोकेर गाउँगाउँ गएर बिक्री गर्ने सुरवीरले यसपटक आफूहरुले आस्थाको आधारमा नभइ सक्षम व्यक्तिलाई मतदान गर्ने पारिवारिक सल्लाह भएको बताए ।

“हामीलाई व्यक्तिगत रुपमा केही चाहिएको छैन । हामीले माग्ने पनि हैनौँं । हामीलाई चाहिएको भने विकास हो । विकासमा भइरहेको राजनीतिको अन्त्य गर्नु हो”, उनले भने, “अहिले आफ्नो प्रभाव बढी भएको क्षेत्रमा विकास हुन्छ । आफ्ना नातागोतालाई आर्थिक उपार्जनको क्षेत्रमा सहभागी गराउने प्रचलन बढ्दै गएको छ । यसबाट नेतृत्वमा गएकाको विकास भयो होला तर हाम्रो अवस्था जस्ताको तस्तै छ ।” 

विसं २०६२ मा टीकापुर बहुमुखी क्याम्पसको जग्गा अतिक्रमण गरेर बस्दै आउनुभएकी रीतु टमट्टाको आर्थिक अवस्था निकै कमजोर छ । श्रीमान् बिरामी छन् । एउटा छोराको वैशाखको हावाहुरीले बस्दै आएको शिविरमा रुख ढल्दा च्यापेर ज्यान गयो । अर्को छोरा मजदूरी गर्न भारत जानुभएको छ । दिनभर मजदूरी नगरेर रीतुको घरमा आगोसमेत बल्दैन । एकातिर गरिबीको पीडा त अर्कोतिर सुरक्षित आवास नहुँदा रीतु मात्रै होइन, टीकापुर नगरपालिकाका करिब चार हजार मतदाता राज्यले सुनिश्चित गरेका अधिकारबाटसमेत वञ्चित छन् । 

सुकुम्बासीले अतिक्रमण गर्नु पहिले जङ्गल भएको त्यो जग्गा यतिबेला उजाड जस्तै बनेको छ । त्यहाँका अधिकांश रुख सुकेका छन् । त्यहाँका स्थानीयवासीलाई चैत वैशाखमा आउने हावाहुरीमा कुन रुख ढलेर कसको ज्यान जाने हो भन्ने त्रासमा जीवनका १७ वर्ष पूरा गर्दा पनि आफ्नो पीडा सुनिदिने कोही नभएको रीतुले बताए । प्रत्येक वर्ष त्यस्तो घटना हुँदै आएको छ ।

“चुनाव आएपछि सबै भोट माग्न आउँछन् । जिते पनि हारे पनि शिविरमा कोही फर्केर आउदैनन् । सुविधा सम्पन्न आवासको व्यवस्थापन गर्छौँ भनेको आज १५ वर्ष हुँदैछ । यो बीचको समयमा कैयौँ चुनावमा सुकुम्बासीका एजेण्डाले प्राथमिकता पायो तर समाधान कसैले पनि गर्न सकेन”, उनले भने, “आज यस्तो गर्मीको समयमा विद्युत् छैन । खानेपानी छैन । बालबालिकाको लागि विद्यालय छैन । कसलाई भोट दिएर के हुने हो जस्तो लाग्छ आजभोलि ।” अब बोल्ने भन्दा पनि काम गर्ने नेतालाई भोट दिने उल्लेख गर्दै रीतुले सत्ताको मालिकलाई नभइ जनताको मालिकको पक्षमा उभिनुपर्ने बेला आएको बताए । 

टीकापुरकै महेश चौधरी लुगा सिउने काम गर्छन् । शिविरमा घरको एक कोठालाई पसलको रुपमा सञ्चालनमा ल्याएर सिलाइकटाइको काम गर्दै आएका महेशले कर्णाली नदीले विस्थापित भएर एकतानगर शिविरमा आश्रय लिन पुगेको बताए । मजदूरी गरेर जीवन निर्वाह गर्दै आएका उनले सिलाइकटाइको तालिम लिएर आफ्नो घरको जोहो टार्ने माध्यम बनाए पनि अझै आफू व्यवसायमा पोख्त भइनसकेको बताए । उनले स्थानीय तहमा थुप्रै तालिम सञ्चालन हुन्छन् । त्यसमा हामीले अवसर नै पाउँदैनौँं ।

आफ्ना नजिकैकालाई ल्याएर सिकाउने र बजेट सक्ने परम्पराका कारण म जस्ता सीपको खोजीमा हिँडेका अवसरबाट वञ्चित हुनुपरेको छ । महेशले भने, “अहिले पनि परिस्थिति फेरिएला जस्तो लाग्दैन । नयाँ सोच र सङ्कल्पका साथ कोही उम्मेदवार अगाडि आउन सकेको छैनन् । तर हामी पनि अब सचेत भएका छौंँ । अब आफ्ना र आस्थाको आधारमा भोट दिएपछि पछुतो हुने हुँदा यसपटक सक्षम नेतृत्वलाई अगाडि ल्याउन सके हामीजस्ता अवसरको खोजीमा दौडिरहेकाले मौका पाउँला कि ।”

यसपटक मतदातामा पनि चेतनाको विकास भएको छ । समुदायमा पार्टी र आस्थालाई त्यागेर सक्षम व्यक्ति ल्याउन नेतृत्वमा आए विकास हुन्छ, भन्ने मानसिकता नागरिकमा देखिएको छ । खासगरी २०७४ सालको स्थानीय तहको निर्वाचनमा जनताले मतदान गरेर पठाएका जनप्रतिनिधिको कामलाई नजिकबाट नियालेका नागरिकले स्थानीय तहमा राम्रो र जनप्रिय व्यक्तिको खोजीमा देखिएका छन् ।