मनसुनी गतिविधि सुदूरपश्चिमभर नै सक्रिय भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वबाट जुन १२ मा प्रवेश गरेको मनसुन अब सुदूरपश्चिममा पुगेको मौसमविद मिनकुमार अर्यालले बताए ।
उनले भने, ‘सुदूरपश्चिममा पश्चिमी वायुको केही प्रभाव थियो । तर आइतबार बेलुकादेखि पश्चिमी वायुलाई पूर्वी मनसुनी वायुले धकेलेको छ र सो क्षेत्रमा पनि मनसुन प्रवेश गरेको छ ।’ यसको अर्थ देशभर मनसुन सक्रिय भइहेको भन्ने हो । देशभर नै मनसुनी झरी परिरहेको छ । हाल अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै क्षेत्रमा पानी परिरहेको मौसमविद अर्यालले बताए ।
प्रदेशका धेरै स्थानमा रातिदेखि नै हल्कादेखि मध्यम वर्षा भइरहेको हो । सोमबार दिनभर पनि मौसम सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने मौसमविदले जानकारी दिए ।
विभिन्न नदीमा पानीको बहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने सम्भावना पनि रहेको जनाइएको छ । यस्तै ढल र पानीको राम्रो निकाश नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।