सुदूरपश्चिमबाट रोजगारीका लागि भारत जाने कामदारका विषयमा अध्ययन सुरु भएको छ। राष्ट्रिय मानवअधिकार आयोगले आप्रवासी कामदारको अवस्था र उनीहरूको हकअधिकारका बारेमा नीति निर्माणका लागि अध्ययन सुरु गरेको हो।
उनीहरुले भारतमा भोग्नुपर्ने समस्या, परिवारले भोगिरहेका समस्या आदीबारे अध्ययन गरिने आयोगका उपसचिव हरि ज्ञवालीले बताए। सुदूरपश्चिमसहित कर्णाली र लुम्बिनी प्रदेशमा उक्त अध्ययन गरिने उनले बताए।
उनका अनुसार सुदूरपश्चिमका डोटी, डडेल्धुरा, बझाङ र कञ्चनपुरमा अध्ययन सुरु गरिएको छ। ती जिल्लामा गएर मजदुरीका लागि भारत गएका सुदूरपश्चिमेलीहरुका परिवारको अवस्था अध्ययन, अनुसन्धान तथा अनुगमन गरिने बताइएको छ।
अहिले भारतमा रोजगारीका लागि जाने नेपालीको संख्या, उनीहरूले भित्राउने रेमिट्यान्स, त्यहाँ भोग्नुपर्ने समस्या, लुटिने कामदारका पीडा र कामकै सिलसिलामा मृत्यु तथा बेपत्ता हुनेका अवस्थाबारे सरकार अनभिज्ञ रहेको छ ।