सुदूरपश्चिममा एक सातामै ७४६ कोरोना संक्रमित थपिए
2020/06/22, 9:27
 
korona

सुदूरपश्चिममा केही दिनयता कोरोना संक्रमण दर तीव्र रुपमा बढेको छ । पछिल्लो एक सातामा मात्रै प्रदेशमा सात सय ४६ जना संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिमा हाल संक्रमितको संख्या एक हजार २४ पुगेको छ । भारतबाट फर्केका हजारौंको परीक्षण नभएकाले परीक्षणको दायरा बढाए संक्रमितको संख्या निकै नै बढ्ने चिकित्सकहरुको भनाइ छ ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशाला र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा १ असारयता गरिएको नमुना परीक्षणमा सात सय ४६ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख एवम् कोरोना फोकल पर्सन नरेन्द्रसिंह कार्कीले जानकारी दिए । तीन दिनमा मात्रै पाँच सय ५६ जना संक्रमित थपिएको उनको भनाइ छ ।

हालसम्म सबैभन्दा बढी ४ असारमा सुदूरपश्चिमका दुई सय २४ जनामा संक्रमण पुष्टि भएको कार्कीले बताए । यस दिन सेतीको प्रयोगशालामा २४ जना, सुदूरपश्चिमबाट पठाइएका नमुना जाँच गर्दा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा एक सय ९९ र भेरी अस्पतालमा एक जनामा संक्रमण पुष्टि भएको थियो ।  यस्तै, ५ असारमा एक सय ७१ जना र ६ असारमा एक सय ६१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको कोरोना फोकल पर्सन कार्कीले जानकारी दिए । मन्त्रालयको तथ्यांक अनुसार १ असारमा ६६, २ असरमा १७ जना र ३ असारमा ३१ जनामा संक्रमण पुष्टि भएको थियो ।

प्रदेशभर कोरोना जाँच हुने प्रयोगशाला एउटै हुँदा परीक्षण सुस्त भएपछि चार दिनयता यहाँबाट स्वाब पठाएर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्न थालिएको छ । आइतबार पनि सुदूरपश्चिमका ७६ जनामा संक्रमण पुष्टि भएको छ । जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३३ जना र सेतीको प्रयोगशालामा ४३ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण हालसम्म यस प्रदेशबाट पाँच जनाको निधन भइसकेको छ । यस्तै साढे पाँच हजार स्वाब परीक्षण हुन बाँकी रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । धनगढीमा परीक्षण सुस्त हुँदा स्वाब थुप्रिएपछि पाँच हजार चार सय १२ वटा नमुना परीक्षणका लागि काठमाडौँ पठाएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढीका निमित्त प्रमुख रामप्रसाद ओझाले जानकारी दिए । भारतबाट जेठयता मात्रै करिब डेढ लाख मानिस यस प्रदेशमा भित्रिएका छन् । तर हालसम्म साढे १० हजार जनाको मात्रै स्वाब जाँच गरिएको छ ।