चिनियाँ सञ्चार माध्यमले गरे मोदीको सराहना
2020/06/22, 11:48
 
modi

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गएको शुक्रबार भएको सर्वदलीय बैठकमा गरेको टिप्पणीको चिनियाँ सञ्चारमाध्यमले सराहना गरेका छन् । चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले मोदीले सर्वदलीय बैठकमा व्यक्त गरेको भनाई र त्यसमा विशेषज्ञको टिप्पणीसहितको खबर प्रकाशित गरेको छ ।

मोदीले सर्वदलीय बैठकमा भारतीय भूमिमा कोही पनि चिनियाँ सैनिक प्रवेश नगरेको र भारतको कुनै पनि सीमा पोस्ट कसैको कब्जामा नरहेको बताएका थिए । उनको यो भनाईले गएको सोमबार राति गलवान उपत्यकाको भारत–चीन सीमा क्षेत्र वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भएको भिडन्तमा चीनको दोष नरहेको पुष्टि गर्ने भन्दै भारतमै मोदीको आलोचना भइरहेको छ ।

ग्लोबल टाइम्सको खबरमा शांघाइस्थित फुडान विश्वविद्यालयको सेन्टर फर साउथ एसियन स्टडिजका प्राध्यापक लिन मिनवाङ्गको राय उल्लेख छ । उनले भनेका छन्, ‘तनाव कम गर्ने क्रममा प्रधानमन्त्री मोदीको वक्तव्य अति महत्वपूर्ण साबित हुनेछ । उहाँले चीनमाथि आरोप लगाउनका लागि कट्टरपन्थीको आधार हटाउनु भएको छ ।’

प्राध्यापक लिनले भनेका छन्, ‘पाकिस्तान वा अरु कुनै देशसँगको तनावमा जस्तो भारतले चीनसँगको तनावमा राष्ट्रवादको आधारमा काम गर्न सक्दैन । चीनसँगको तनाव उसका लागि राष्ट्रवाद भन्दा फरक कुरा हो ।’

चिनियाँ सञ्चारमाध्यम र त्यहाँका विश्लेषकले मोदीको भनाईको स्वागत तथा सो वक्तव्य धेरै हदसम्म सही रहेको बताए पनि भारत भित्रै भने मोदी सबैतिरबाट प्रश्नहरुको घेरामा परेका छन् ।