स्थानीय तह चुनावको अघिल्लो दिनसम्म बैतडीको डिलासैनी गाउँपालिकाका जनताले कसलाई निर्वाचित गराउलान् भनेर संशय थियो । एमाले र नेपाली कांग्रेसबीच मुख्य प्रतिस्पर्धा थियो । अर्कातिर थिए, स्वतन्त्र उम्मेदवार सन्तोषप्रकाश जोशीको टिम ।
एमाले र कांग्रेसले व्यापक चुनावी प्रचारप्रसार गरिरहँदा उता सन्तोषको टिम पनि आफ्नै तरीकाले चुनावी प्रचारमा खटिएको थियो । आफ्ना एजेन्डाहरू जनतामाझ राखिरहेको थियो । अन्ततः चुनाव भयो । जनताले पार्टीलाई छाडेर स्वतन्त्र उठेका सन्तोषलाई आउँदो पाँच वर्षका लागि गाउँपालिकाको अध्यक्षका रूपमा चुने ।
सन्तोषको स्वतन्त्र उम्मेदवारी र विजय यात्रा सहजै बनेको थिएन । सन्तोष र उनको टिमले प्राप्त गरेको सफलताको कथाको पछाडि अरू उपकथा धेरै छन् । सन्तोषको उम्मेदवारी घोषणा पार्टीबाट टिकट नपाउँदा सुरु भएको विश्लेषण हुने गरे पनि उनले त्यसअघि नै त्यस क्षेत्रका स्थानीय जनताको मत जितिसकेका थिए ।
एमाले पार्टीले आफूलाई सिफारिस गर्नेमा ढुक्क थिए ३५ वर्षीय सन्तोष । उनले गाउँमा गरेको काम, जनताको सामुन्ने उनले प्राप्त गरेको लोकप्रियता उनले टिकट पाउनुपर्ने मूल तत्त्व थिए । उनको पार्टी एमाले मात्रै नभएर अन्य पार्टीका नेता कार्यकर्ताहरूमा पनि सन्तोषले पालिकाको नेतृत्व गर्नुपर्छ भन्ने थियो । तर, पालिका कमिटीले उनलाई टिकटका लागि सिफारिस नै गरेन ।
यसको मूल कारण थियो, एमालेका बैतडी जिल्ला अध्यक्ष सुरेन्द्र पालसँग सन्तोषको खराब सम्बन्ध । गएको जिल्ला अधिवेशनका वेला फरक प्यानल बनाएर निर्वाचन लड्न खोजेका थिए उनले । तर, पालले सहमतिबाट नेतृत्व चयनका लागि भन्दै सन्तोष लगायतको टिमलाई बाहिर राखेर जिल्ला कमिटी बनाए ।
तर कथा यो भन्दा पहिले नै सुरु भइसकेको थियो । डिलासैनी गाउँपालिकाको केन्द्र कहाँ बनाउने भन्ने विषयमा लामो छलफल भएको थियो । संघीय संरचनामा मुलुक गइसकेपछि गाउँपालिकाको नाम र केन्द्र सिफारिस समितिले पालिकाको नाम डिलासैनी र केन्द्र वडा नम्बर ७ धामी गाउँमा राख्ने भनेको थियो ।
यसपछि ०७४ सालको स्थानीय निर्वाचन भयो । उक्त निर्वाचनबाट निर्वाचित प्रतिनिधिले पनि सोही अनुसार गर्ने निर्णय गरे । निर्णय मात्रै भएन । त्यहाँ डिलासैनी भगवती मन्दिरमा गएर कसम नै खाए जनप्रतिनिधिले डिलासैनी ७ मा नै पालिका हुनुपर्छ भनेर । तर पछि पालिकाको केन्द्र अचानक सारियो, सम्पर्क कार्यालयको नाममा । अध्यक्ष पालको सक्रियतामा ७ नम्बर वडामा राख्ने भनिएको केन्द्रलाई ३ नम्बर वडामा सारियो । जुन पालको गृह गाउँ पर्छ ।
पहिलै तोकिएको र जनप्रतिनिधिले निर्णय गरिसकेको निर्णय उल्टिएपछि विवाद बढ्दै गयो । नागरिक समाजले आन्दोलन सुरु ग¥यो । त्यसको संयोजन जयराज जोशीले गरे । उनलाई अन्य दलको पनि समर्थन थियो । जयराज पछि नेपाली कांग्रेस प्रवेश गरेर पालिका सभापति भए ।
तर आन्दोलनले मूर्त रूप तब लियो तब यो आन्दोलनमा सन्तोषको टिम पनि समावेश भयो । एमालेमा हुँदादेखि नै सन्तोषहरूको अडान थियो, पालिका तोकिएकै ठाउँमा हुनुपर्छ । तर, विवाद यसरी बढ्यो कि मुद्दा सर्वोच्च अदालतसम्म पुग्यो । पछि नेपाल सरकारको सचिवस्तरीय निर्णयले डिलासैनी ७ मै केन्द्र हुनुपर्ने निर्णय भयो ।
यसमा सन्तोषसँगै अन्य न्यायिक आन्दोलनका सदस्यहरूको ठूलो साथ र सहयोग छ । यो घटनापछि पालसँग सन्तोषको टसल झनै बढेर गयो भनिन्छ ।
पालिका केन्द्रको आन्दोलन सर्वोच्चसम्म पुग्दा सन्तोषले वडा नम्बर ४, ५, ६, ७ का जनताको मन जितिसकेका थिए । सडक सञ्जालबाट टाढा रहेका जनतालाई सन्तोषकै नेतृत्वमा जनश्रमदानबाट सडकको ट्र्याक खोल्ने काम सुरु भयो । जनताको सहयोग र व्यक्तिगत खर्चबाट उनले १३ किलोमिटर बढी सडकको ट्र्याक खोले ।
सन्तोषकै कारण अहिले उपभोग्य सामाग्री, निर्माण सामाग्री ढुवानीमा सहज भएको छ । जसरी नेपालमा लोडसेडिङ हट्दा कुलमान घिसिङलाई जनताले सम्मान दिएका थिए, त्यसरी नै डिलासैनीमा सडक पुग्दा सन्तोषलाई पनि सम्मान गरिएको थियो ।
यसपछि भने पार्टीले सिफारिस नगरे पनि स्थानीय जनताले पालिकामा सन्तोष नै आउनुपर्छ भनेर अभियान सुरु गरे ।
जनतामा यो अभियान चलाउने हिम्मत र आँट सन्तोषले नै भरेका थिए । नत्र पालिकाभरि अध्यक्ष पालको मनोमानी विरुद्ध आवाज उठाउने हिम्मत अरू कसैले गर्न सकेका थिएनन् । पालिकाबाट योजना पाउने लोभ तथा डरका कारण बोल्नै सकेका थिएनन् । तर, सन्तोषले आफ्नै पार्टीको नेतृत्वको गलत प्रवृत्तिविरुद्ध बोलेपछि जनताले उनको साथ दिए । जसका कारण अबको पाँच वर्षका लागि पालिका हाँक्नेछन् उनले ।
सन्तोषले स्वतन्त्र प्यानल बनाएर आफ्नै एमाले र गठबन्धनका उम्मेदवारलाई ठूलो मतान्तरले पराजित गरे । वडा नम्बर ४, ५ र ७ मा त सन्तोषको स्वतन्त्र टिमबाट वडाध्यक्षको प्यानलै विजयी भए । धरान र काठमाडौंमा लौरोले मूलधारका दललाई कुटिरहँदा बैतडीको डिलासैनीमा पुतली चम्कियो ।
वडा नम्बर ४ मा हरि पन्त, वडा नम्बर ५ मा यज्ञ भट्ट र वडा नम्बर ७ मा प्रकाशमणि भट्ट पनि प्यानलसहित स्वतन्त्र हैसियतमा विजयी भए ।
९ हजार आसपासमा मत खसेको डिलासैनी पालिकामा मतगणना हुँदा सुरुका तीन वडामा सन्तोषको मत २६५ पुग्दा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार लोकेन्द्रबहादुर रानाको १८१३ पुगिसकेको थियो । अर्का उम्मेदवार एमालेका अक्कल बहादुर रानाको १७१५ मत पुगेको थियो ।
तर वडा नम्बर ४ को गणना सम्पन्न हुँदा उनले कम ब्याक गर्न सुरु गरे । स्वतन्त्र वडाध्यक्षका उम्मेदवार प्यानलसहित विजयी भएको सो वडामा सन्तोषले ५४५ मत पाउँदा गठबन्धनका उम्मेदवारले २०२ र एमाले उम्मेदवार जम्मा १३५ मत पाए ।
वडा नम्बर ७ को मतगणना हुँदा समेत ३ सय मतले पछि परेका सन्तोषले त्यहाँ १०१७ मत प्राप्त गरे । जहाँ गठबन्धन उम्मेदवारले १६६ र एमाले उम्मेदवारले १४५ पाए । गठबन्धन उम्मेदवारले २६५१ र एमाले उम्मेदवारले २५५७ पाउँदा सन्तोषले फिल्मी शैलीमा कम ब्याक गर्दै समग्रमा ३१८९ मतका साथ विजयी हासिल गरे ।
जनताले पाँच वर्षका लागि सन्तोषलाई निर्वाचित गर्नुअघि पनि ठूलो चुनौतीसँग थिए । अहिले निर्वाचित भएपछि झनै ठूलो चुनौतीसँग छन् । पालिकाका गर्नुपर्ने कामहरू थुप्रो छन्, जसलाई अबको पाँच वर्षमा फत्ते गर्नुपर्नेछ सन्तोषले ।
सन्तोष भन्छन्, ‘अहिले हामी टेलिकमको टावर निर्माणका लागि लागिरहेका छौँ । साथीहरू फिल्डमा खटिनुभएको छ । अब पहिलो काम यहीँबाट सुरु गर्दै छु ।’ सन्तोषका अनुसार अचेल दिउँसो मात्रै अलिअलि नेटवर्क टिप्न सक्ने अवस्था छ, त्यो पनि घाम परेको समयमा मात्रै । राति भने नेटवर्क नै टिप्दैन ।
पाँच वर्षअघि यस्तो अवस्था नभएको भन्दै उनी भन्छन्, ‘अहिले दिउँसै कुरा गर्न पाउनु भनेको भाग्यको कुरा हो । तर अब यो समस्यालाई हामी चाँडै समाधान गर्नेतिर लागेका छौँ ।’
गाउँपालिकामा समस्या नेटवर्कको मात्रै छैन । डिलासैनीसँग सिमाना जोडिएको दार्चुलामा चमेलिया जलविद्युत् आयोजना छ । तर, छेवैको डिलासैनी पालिकाको ९० प्रतिशतभन्दा ज्यादा अँध्यारोमा छन् । सडक विस्तारको अवस्था राम्रो छैन । भर्खरै ट्र्याक खुले पनि त्यसलाई अझैँ व्यवस्थित गरेर कालोपत्रे गर्दै सडक सञ्जाललाई केन्द्रसम्म जोड्न बाँकी नै छ ।
खानेपानीको मूलहरू भए पनि गाउँमा पुर्याउन नसक्दा अवस्था जर्जर छ, त्यसलाई व्यवस्थापन गर्दै अगाडि बढ्ने सन्तोष बताउँछन् । भन्छन्, ‘अबको पाँच वर्ष म यी मूल मुद्दाहरूमा ध्यान केन्द्रित गर्छु । साथै हाम्रो पालिकाको आफ्नै भवन छैन, वडामा पनि आफ्नै भवन छैन । अघिल्लो स्थानीय सरकारले केही गरेन । त्यो काम पनि गर्नुपर्ने दायित्वभित्र छन् ।’
सन्तोषले पार्टीबाट विद्रोह गरेर जनताको समर्थनमा जित निकाले । यसबीचमा अब उनको भूमिका फेरिएको कारण पाँच वर्ष जनताकै सेवा गर्ने सोचमा छन् । उनलाई एमाले पार्टीले निष्कासन गरेको छैन तर पनि उनी पार्टीमा फर्केर काम गर्ने कि स्वतन्त्रै बस्ने भन्ने निर्णयमा पुगिसकेका छैनन् ।