कैलालीमा ८० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३४१ पुग्यो 
2020/06/22, 6:22
 
korona

सुदूरपश्चिममा थप १३७ जनामा कोरोना पुष्टि भएको छ । धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ४१ जना र काठमाण्डौ स्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा ९६ जनामा कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि भएका मध्ये सवैभन्दा वढी कैलाली जिल्लाका रहेका छन् । कैलालीमा मात्रै एकै दिन ८० जनामा कोरोना पुष्टि भएको छ । जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा ५८ जनामा कोरोना पुष्टि भएको हो ।

धनगढी स्थित प्रयोगशालामा परिक्षण गर्दा २२ जनामा कोरोना पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार धनगढी  प्रयोगशाला गरिएको परीक्षणमा कैलालीका धनगढीका ५ महिला र १६ पुरुष गरी २१, भजनीका एक पुरुषमा संक्रमण पुष्टि भएको हो । कैलाली वाहेक अछाममा तीन महिला र दुई पुरुष गरी पाँच जना, डडेल्धुराको गन्यापधुराका तीन पुरुष, कञ्चनपुरको शुक्लाफाँटाका तीन महिला र एक पुरुष गरेर चार जना, बेदकोटका एक पुरुष, भीमदत्तनगरका एक पुरुष, पुनरवासका दुई पुरुषमा कोरोना पुष्टि भएको छ । बझाङको बुगंलका एक महिला र दुई पुरुष गरी तीन जनामा कोरोना पुष्टि भएको उनले बताए । 

यस्तै काठमाडौँमा भएको परीक्षणमा थप ९६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मनत्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार कैलालीमा एक महिला र ५७ जना पुरुष गरी ५८ जनामा कोरोना पुष्टि भएको छ । कैलाली वाहेक डडेल्धुरामा ५ महिला र १० पुरुष गरी १५ जना, बैतडीमा एक महिला र १३ पुरुष गरी १४ जना, डोटीमा चार महिला र तीन पुरुष गरी सात जना र अछाम जिल्लामा एक जनामा कोरोना पुष्टि भएको छ ।  योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या एक हजार एक सय ६१ पुगेको छ ।

यसमा सवैभन्दा वढी कैलालीका संक्रमित रहेका छन् । जिल्लामा संक्रमितको संख्या ३४१ पुगेको छ । कैलाली वाहेक सुदुरपश्चिमका अन्य जिल्लाहरु डडेल्धुरामा दुई सय चार, बैतडीमा एक सय ५६, डोटीमा एक सय ६१, कञ्चनपुरमा एक सय ८, अछामका ८२, बाजुराका ७२, बझाङमा २४ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि भएका पाँच जनाको मृत्यु भईसकेको छ भने एक सय ३४ जना निको भएर घर फर्किसकेका छन ।