कोरोना संक्रमित बढ्दै गएपछि सुदूरपश्चिमका स्थानीय तहले पालिकाहरू सिल गर्न थालेका छन । बैतडीको पाटन नगरपालिकाभित्र अत्यावश्यक सेवा बाहेक सम्पूर्ण बजार र व्यवसाय एक साताका लागि सिल गरिएको नगर प्रमुख केशव चन्दले बताए ।
१५ असारसम्म कायम रहने कडाइको कसैले अवज्ञा गरेको पाइए पहिलो पटकलाई ५ हजार रुपैयाँ जरिवाना गरिने उनले जानकारी दिए । यस्तै, दोस्रो पटक अवज्ञा गरेको पाइए १० हजार जरिवाना र तेस्रो पटक पनि अटेर गरेको पाइए प्रचलित कानून अनुसार कारवाही गरिने उनले बताए । यस्तै, डडेल्धुराको परशुराम नगरपालिका क्षेत्र समेत आईतबारदेखि सिल गरिएको छ । ७ देखि ११ असारसम्म अत्यावश्यक सेवा बाहेक नगरपालिका क्षेत्रका सम्पूर्ण बजार सिल गरिएको नगर प्रमुख भीमबहादुर साउँदले बताए । केही दिनअघि डडेलधुराको गन्यापधुरा गाउँपालिका, डडेलधुरा बजार क्षेत्र पनि सिल भईसकेको छ ।
कैलालीको गौरीगंगा नगरपालिका सिल गरिएको छ । असार ७ गते आइतबार बसेको नगर कार्यपालिकाको बैठकले अर्को सूचना जारी नहुँदासम्म नगरपालिका सिल गर्ने निर्णय गरेको हो । कोरोना भाइरसका संक्रमितहरु बढ्दै गएपछि नियन्त्रण गर्न थप चुनौतीपूर्ण हुने भन्दै नगरपालिका सिल गरिएको जनाइएको छ । नगरपालिकामा अत्यावश्यक बाहेकका अन्य सम्पूर्ण सेवासँगै व्यापारव्यवसाय समेत अर्को सूचना जारी नभएसम्म संञ्चालन नगर्न निर्देशन दिइएको नगर प्रमुख भीमबहादुर देउवाले बताए । साथै नगरवासीलाई विना काम बाहिर ननिस्कन समेत आग्रह गरेको उनले बताए ।
यसअघि कोरोना संक्रमित बढेको भन्दै कैलालीको गोदावरी नगरपालिका सिल भइसकेको छ । अहिलेसम्म कैलालीको गौरीगंगा नगरपालिकामा मात्रै ५० जनामा कोरोना पुष्टि भएको छ । सोमबारको नयाँ आँकडा अनुसार कैलालीमा संक्रमितको संख्या तीन सय ४१ पुगेको छ । यसैगरी कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर २ मा रहेको साडेपानी बजार सिल गरिएको छ । कोरोना महामारी नियन्त्रणको लागि भन्दै सोमबार सरोकारवालाहरुको बैठकले सो निर्णय गरेको हो ।
कोरोनाको जोखिम नियन्त्रणका लागि भन्दै नगरपालिकाको वडा नम्बर २ मा रहेको साडेपानी बजार आगामी बुधबारसम्मका लागि सिल गर्ने निर्णय गरिएको घोडाघोडी उद्योग वाण्ज्यि संघका उपाध्यक्ष नन्दराम सापकोटाले जानकारी दिए । कोरोनाका बिरामीहरु थप फैलिन सक्ने भएकाले बजार क्षेत्रमा हुने भिडभाड पुर्ण रुपमा रोकी नियन्त्रणको प्रयास गरिएको उनले बताए । घोडाघोडी नगरपालिकामा अहिलेसम्म ३२ जना कोरोना संक्रमित भेटिएका छन् । उनीहरु सबैलाई रिपोर्ट नआउदै घर पठाईसकेको छ ।