क्वारेन्टिनबाट घर पठाईएका पुरुषको बाटैमा मृत्यु, कोरोना परीक्षण हुने
2020/06/22, 7:39
 
corona

कैलालीको लम्कीचुहा नगरपालिका–२ स्थित बालसेवा स्कुलको क्वारेन्टाइनमा बसेर घर फर्किएका ३६ वर्षे युवकको सोमबार साँझ बाटैमा मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रतिक बिष्टले क्वारेन्टाइनबाट वडा नम्वर ७ स्थित आफ्नो घर जाँदै गर्दा स्थानीय बगनिया चोकनेर अचानक ढलेका उनको मृत्यु भएको बताए ।

‘उनको शवबाट थ्रोट स्वाब लिई कोरोना परीक्षणका लागि सेती प्रयोगशालामा पठाईएको छ,’ उनले भने, ‘शव कसैलाई छुन दिइएको छैन ।’ डिएसपी बिष्टका अनुसार उनी जेठ २६ गते भारतबाट आएका थिए । सिधै क्वारेन्टाइनमा राखिएका उनको आरडिटी परीक्षणमा नेगेटिभ नतिजा आएको थियो 

। क्वारेन्टाइनमा बसेको १४ दिन पुरा भएकाले सोमबार घर पठाइएको हो । घर फर्कने बेलासम्म उनलाई कुनै जटिल स्वास्थ्य समस्या नदेखिएको प्रहरीले बताएको छ । ‘पीसीआर रिर्पोट नेगेटिभ आएपछि आफन्तलाई शव उठाउन दिइने छ,’ डिएसपी बिष्टले भने, ‘त्यतिबेलासम्म घटनास्थलमै शव कुर्नुपर्ने अवस्था छ ।’

कैलाली जिल्लामा कोरोनाबाट ३ जनाको मृत्यु भइसकेको छ । दुईजनाको मृत्युपछि कोरोना पुष्टि भएको थियो ।