सुदूरपश्चिममा असारमा मात्रै ७७ प्रतिशत कोरोना संक्रमित भेटिए
2020/06/23, 7:35
 
korona

सुदूरपश्चिममा असारमा मात्रै ७७ प्रतिशत कोरोना संक्रमित भेटिएका छन् । असार १ गतेदेखि ८ गतेसम्म कुल संक्रमितको ७७ प्रतिशत कोरोना पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म् सुदूरपश्चिममा ११६१ जनामा कोरोना पुष्टि भएको छ । त्यसमा असारका ८ दिनमा मात्रै ८९७ जनामा कोरोना पोजेटिभ आएको छ ।

यो भनेको कुल संक्रमित संख्याको ७७ प्रतिशत हो । यसअघिका तीन महिनामा २३ प्रतिशत संक्रमित भेटिएका थिए ।  धनगढी प्रयोगशाला र काठमाडौँ प्रयोगशालामा असार महिनाको ८ दिनमा २ हजार एक सय १५ वटा नमुनामध्ये ८९७ जना नमुना पोजेटिभ आएका छन् । यो कुल परिक्षण गरिएका नमुनाको ४३ प्रतिशत हो ।  जेठ ३२ गतेसम्म सुदूरपश्चिममा संक्रमितको सङख्या दुई सय ६४ थियो । त्यो अवधिमा धनगढी प्रयोगशाला मार्फत ६ हजार पाँच सय २२ र काठमाडौँ लगायतका प्रयोगशाला मार्फत दुई हजार तीन सय १६ जना गरी ८ हजार ८ सय ९० जनाको कोरोना परीक्षण भएको थियो ।

सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङक अनुसार असारको ८ दिनमा धनगढी प्रयोगशाला मार्फत एक हजार चार सय ९६ जना र काठमाडौँ प्रयोगशालामा पाँच सय ७५ जना गरी थप दुई हजार एक सय १५ जनाको कोरोना परीक्षण भएको छ । प्रदेशभरी अहिलेसम्म ११ हजार पाँच जनाको कोरोना परीक्षण भएकोमा संक्रमितको सङख्या एक हजार एक सय ६१ पुगेको छ । पुष्टि भएका पाँच जनाको मृत्यु भईसकेको छ भने एक सय ६५ जना निको भएर घर फर्किसकेका छन् । 

असारको १ गते ६८ जना, २ गते १७ जना, ३ गते ३२ जना, ४ गते दुई सय ३८ जना, ५ गते एक सय ६६ जना, ६ गते एक सय ६३ जना, ७ गते ७६ जना र ८ गते एक सय ३७ जनामा कोरोना पुष्टि भएको संघीय स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म सबैभन्दा बढी कैलालीका तीन सय ४१ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै डडेल्धुरामा दुई सय पाँच, बैतडीमा एक सय ५६, डोटीमा एक सय ६१, कञ्चनपुरमा एक सय ८, अछामका ८२, बाजुराका ७२, बझाङमा २४ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि भएका पाँच जनाको मृत्यु भईसकेको छ भने एक सय ६५ जना निको भएर घर फर्किसकेका छन् ।