एक सुदुरपश्चिम अनेक पर्यटन
2020/05/12, 12:56
 
TOURIST

एक पिलरका भरमा उभिएर तराजु शैलीमा निर्मित भव्य भौतिक संरचनासहित लम्पसार परिरहेको पुल हुँदै बर्दियाबाट कैलालीको चिसापानी प्रवेश गर्ने जो कोही यात्रुलाई लाग्दैन, यतिबेला म सुदुरपश्चिम प्रदेशमा छु । कर्णाली नदी पहाड छेडेर तराई झर्दै गर्दा चल्ने तिव्र वायु र सिरेटोले स्वागत गर्ने चिसापानीबाटै प्रारम्भ हुन्छ सुदरपश्चिम प्रदेशको चिनारी । अलौकिक प्राकृतिक सम्पदा, ऐतिहासिक तथा सांस्कृतिक धरोहरले भरिपूर्ण तथा मानव निर्मित संरचनाको मिश्रण सुदुरपश्चिम यतिबेला पर्यटकको पखाईमा छ । राजनीतिक रूपमा अखण्डताको वकालत गर्ने सुदुरपश्चिम पर्यटकीय प्रोडक्टको हिसावले बहु आयामिक सम्भावना बोकेको क्षेत्र हो ।

TOURIST

टिकापुर शान्त छ पर्यटक पठाइदिनुस

नयाँ संविधान जारी हुनु अघि २०७२ भदौ पहिलो साता कैलालीको टिकापुर पूर्णतया अशान्त बन्यो । भदौ ७ गते भएको हिंसात्मक घटनाबाट आधा दर्जनभन्दा बढी सुरक्षाकर्मी र नाबालकको हत्या भएपछि राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा टिकापुरबारे नकारात्मक सन्देश फैलियो । विशेषगरी आदिवासी थारु समूदायको बाहुल्य रहेको टिकापुरलाई कलङ्कित बनाउने यस घटनापछि केवल कैलालीले मात्र होइन समग्र सुदुरपश्चिमको छवि नराम्रो बन्न पुग्यो ।
घटनापछि पाठ सिक्दै नागरिक अगुवा, स्थानिय राजनीतिक दल, व्यवसायी र पेशाकर्मी टिकापुरको नकारात्मक छवि पुनः परानै अवस्थामा फर्किएको छ । ‘यहाँ हामी सबै जातजात धर्मका मानिस मिलेर बसेका छौं,’ चिसापानी पर्यटन विकास समितिका सदस्य मातृका तिमल्सिना भन्छन्, ‘गलत तत्वले राजनीतिक अभिष्ठ पुरा गर्न घटाएको घटनालाई अब बिर्सनुपर्छ ।’


घटनापछि धरासायी बनेको व्यापार व्यवसायले गति लिन थालेको छ भने अन्य गतिविधि सामान्य बनेका छन् । तर, पर्यटकीय सम्भावनाको खानी भएपनि टिकापुर र यस आसपासको क्षेत्रमा पर्यटन गतिविधि भने अझै सामान्य बन्न सकेको छैन । व्यवसायी भने पर्यटकको स्वागतका लागि तयार छन् । टिकापुर उद्योग वाणिज्य संघ, स्थानिय होटल व्यवसायी, पर्यटन व्यवसायी, उद्यमी, राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी, पेशाकर्मी लगायतले गत साता एउटै मञ्चबाट टिकापुर सुरक्षित रहेको र पर्यटकको स्वागतका लागि तयार रहेको सन्देश प्रवाह गरेका छन् ।

कृतिम र प्राकृतिक सम्पदाको मिश्रण
कैलालीको टिकापुर आफैमा एक पर्यटकीय गन्तब्य हो । व्यवस्थित शहरीकरणको नमुनाका रूपमा विकास गरिएको टिकापुर स्थित बृहत पार्क मार्फत शाहकालीन वैभवलाई नजिकबाट नियाल्न सकिन्छ । दैनिक सयौं आन्तरिक पर्यटकले भ्रमण गर्ने र विभिन्न जिल्लाबाट पिकनिक मनाउन आउने मानिसको भिडले टिकापुरलाई प्रख्यात बनाएको छ । केरा खेतीसँगै केरा रिसोर्ट स्थापना गरेर नेपालकै उत्कृष्ट कृषक बन्न सफल कालु हमालको पौरख पनि टिकापुरको पर्यटकीय प्रोडक्टभित्र पर्न थालेको छ ।

कैलाली पुग्ने पर्यटकले मौलिक थारु संस्कृतिमा रमाउनुसँगै जाल्पादेवी मन्दिर, राधाकृष्ण मन्दिर, शिव मन्दिर, गणेश मन्दिरको दर्शन गर्न पाउँछन् । यसै क्रममा पूर्व सांसद सुकदया चौधरीको अगुवाईमा कैलालीको पथलैया गाविस स्थित बक्लौवा मुक्त कमैया शिविरमा थारु होमस्टे शुरु गरिएको छ ।
कैलालीको धनगढी पुग्ने हरेक पर्यटकका लागि एयरक्राफ्ट संग्रहालय पुग्नैपर्ने स्थल बनिसकेको छ । पाइलट वेद उप्रेतीले कस्मिक एयरको विमान धनगढी पु¥याएर स्थापना गरेको यो म्यूजियम हवाई यात्रा सम्बन्धमा चासो राख्ने सबैका लागि आकर्षक गन्तव्य हो । यसबीचमा पर्ने घोडाघडी ताल तथा कर्णाली नदी आफै पनि पर्यटक आकर्षित गर्ने माध्यम हुन् । अर्कोतर्फ कंचनपुर जिल्ला स्थित चाँदनी–दोधारा जोड्ने एसियाकै लामो झोलुंगे पुल समेत सुदुरपश्चिमको चिनारी बनिसकेको छ ।

खुला चिडियाखानाः शुक्लाफाँटा
सामान्यतया केही घण्टाका लागि गरिने जंगल सफारीका क्रममा जंगली जनावर भेट्न मुस्किल पर्छ । तर, कंचनपुरको महेन्द्रनगर स्थित शुक्लाफाँटा बन्यजन्तु आरक्ष एउटा खुला चिडियाखाँना हो, जहाँ पुग्ने पर्यटकले आँखै अगाडी सयौं जंगली जनावर प्रत्यक्ष देख्न पाउँछन् । विशेषगरी बाह्सिंगा र मृगका लागि प्रख्यात यो आरक्ष थुप्रै प्रजातीका चराचुरुङ्गी, बाघ, गैँडा जस्ता जनावरको बासस्थान हो । 


पहाड र हिमालमा यातायात समस्या
प्रकृति प्रदत्त अपार सम्पदालाई नजिकबाट अनुभूति गर्न भने सुदुरपश्चिमका पहाडी तथा हिमाली इलाकामा समेत पुग्नुपर्ने हुन्छ । बडीमालिका, खप्तड, रामारोशन जस्ता स्थान अझै पनि पर्यटकको पर्खाइमा छन् । भौतिक पूर्वाधारको अभावले ति स्थानसम्म पर्यटक पु¥याउन नसकिएको सरोकारवाला बताउँछन् ।

होटल–लजको उपलब्धता
सुदुरपश्चिमको भ्रमणलाई प्रवद्र्धन गर्ने उद्देश्यले व्यवसायीहरुले विभिन्न प्रकारका प्याकेज ल्याउन थालेका छन् । व्यवसायी स्वयमको प्रयासमा थुप्रै प्रयास थालिएका छन् । सुदुरपश्चिम आउने पर्यटकले स्तरीय बास र खानका लागि चिन्ता गर्नु नपर्ने महेन्द्रनगर स्थित शुक्लाफाँटा जंगल रिसोर्टका संचालक परमानन्द भण्डारी बताउँछन् । शहरबाट नजिकका गन्तब्यमा स्तरीय होटल, रिसोर्ट र लजहरु खुलेका छन् । पहाडी र हिमाली जिल्लाका गन्तब्यमा भने खान बस्नका लागि सुविधा उपलब्ध हुन सकेको छैन ।