सुदूरपश्चिमका क्वारेन्टिनमा दुर्गमभन्दा सुगममा बढी खर्च, अवस्था भने दईनीय
2020/06/23, 9:45
 
korona

सुदूरपश्चिमका ८८ स्थानीय तहले क्वारेन्टिन व्यवस्थापनमा करोडौं खर्च भएको दाबी गरे पनि क्वारेन्टाईनको अवस्था दयनीय छन् । यहाँ दुर्गम क्षेत्रभन्दा सुविधा र स्रोत साधन सहज भएका ठाउँमा स्थानीय तहमा क्वारेन्टाईन व्यवस्थापन र राहत वितरणमा बढी खर्च भएको छ ।

कतिपय स्थानीय तहले अरूभन्दा तेब्बरसम्म खर्च गरेका छन् । कञ्चनपुरको बेदकोट नगरपालिकाले २२ लाख खर्च गरेको छ । राहत वितरणमा नगरको ४५ लाख खर्च भएको प्रमुख प्रशासकीय अधिकृत धर्मराज जोशीले बताए । भीमदत्त नगरले १ करोड २ लाख खर्च गरेको छ । कैलालीमा धनगढी उपमहानगरले एक्लै ४ करोड खर्च गरेको छ ।

लम्कीचुहा नगरले ४२ सय जनालाई क्वारेन्टाइनमा राखेको खर्च ५ करोड भएको दाबी गरेको छ । भजनी नगरले ३ करोड खर्च भएको जनाएको छ । गोदावरी नगरपालिकाले कुल खर्चको ८० प्रतिशत क्वारेन्टाइन व्यवस्थापनमा खर्च गरेको जनाएको छ ।

अछामको दुर्गम ढकारी गाउँपालिकाले ३५ लाख र मंगलसेन नगरले ४८ लाख खर्च गरेका छन् । कैलालीको घोडाघोडी नगरपालिका मेयर मायाप्रसाद चौधरीले भने, ‘आरडीटी र भीटीएम खरिदमा मात्रै ३० लाख बढी खर्च भइसक्यो ।’