खेतमा परिणत पुरैना ताललाई पुनर्जीवन दिने पहल
2022/06/20, 1:15
 
d

कैलालीको भजनी नगरपालिका–७ स्थित पुरैना ताल डेढ दशक अगाडिसम्म दुरुस्तै थियो । सारस लगायत दुर्लभ चराहरुको प्राकृतिक बासस्थानमात्रै नभएर बसन्ता जैविकमार्ग र भारतको दुधुवा नेशनल पार्कलाई पनि जोडेको थियो, त्यो तालले । 

जैविक विविधताले निकै महत्वपूर्ण  पुरैना तालको अब भने नामोनिसान छैन । २०६६ देखि पुरिन सुरु भएको ताल अतिक्रमणको चपेटामा पर्दै अब खेतीयोग्य जमिनमा परिणत भइसकेको छ । भग्नावशेषमात्रै बाँकी रहेको ताल क्षेत्रमा खेतीपाती भइरहेको छ ।  ‘२०७० सालतिर नाप नक्साङ्कन गरेर हामीले ताल क्षेत्रको जमिन छुट्टयाउने प्रयास गरेका थियौँ’, त्यति बेला सो कार्यमा संलग्न भजनीका संरक्षणकर्मी खुमबहादुर खड्का भन्छन् । ‘तर, केही राजनीतिक दलहरुले अवरोध गरे । ती दलहरुको असहयोगका कारण हामी पछाडि हट्यौं ।’ 

खड्काका अनुसार २०७२ सम्म पनि ताल क्षेत्रमा पानी जमेको थियो । त्यसपछि खेतीपाती हुन थालेपछि हेर्दाहेर्दै तालको अस्तित्व समाप्त भएको छ । अस्तित्व सकिएको सो तालको पुनरोत्थानका लागि जिल्लास्थित सरोकारवाला निकाय फेरि जुुर्मुराएका छन् । बसन्ता जैविक मार्ग र दुधुवा नेशनलपार्कबीचको ‘कनेक्टिभिटी’ हुने भन्दै पुरैना तालको पुनरोत्थानका लागि सरोकारवाला जुर्मुराएका हुन । 

स्थानीय समुदायसहित सरोकारवाला कार्यालय, सङ्घसंस्थाको चाहना अनुरुप पुरैना ताल पुनरोत्थानका लागि प्रक्रिया अगाडि बढाएको डिभिजन वन कार्यालय पहलमानपुरले जानकारी दिएको छ । ‘यो वर्ष हामीले ताल क्षेत्रको सीमाङ्कन र नक्साङ्कन गर्छौ । सीमाङ्कन र नक्साङ्कनमात्रै गर्न सक्यौं भने पनि ठूलो उपलब्धि हुनेछ’, डिभिजन वन कार्यालय पहमानपुरका प्रमुख गोकुल रिजालले भने । ‘त्यसका लागि भजनी नगरपालिकालाई पनि अनुरोध गरेर प्रक्रिया अगाडि बढाएका छौं ।’ 

पुरैना ताल क्षेत्रको क्षेत्रफल सय÷डेढ सयको हाराहारीमा रहेको बताइएको छ । जसमध्ये पानी रहेको भू–भागमात्रै ७३ हेक्टर थियो । घोडाघोडी जतिकै ठूलो पुरैना तालको पूर्व र उत्तरतिर केही नम्बरी जग्गा रहेको छ । त्यसैगरी, पश्चिमतिर पुनर्वास कम्पनीमार्फत हिम्मतपुरवासीलाई प्रति घरधुरी आठ÷आठ कट्ठाका दरले दिएको जमिन छ । नम्बरी र समुदायले पाएको जग्गा छुट्टयाएर बाँकी रहेको सबै जमिन तालको रहने गरी सीमाङ्कन, नक्साङ्कन गरिने रिजालले बताए ।  

‘यो वर्ष सीमाङ्कन र नक्साङ्कनको काममात्रै गर्छौ’, उनले भने । ‘त्यो भइसकेपछि ताल पुनरोत्थानका लागि नगरपालिका लगायत सम्बन्धित क्षेत्रमा काम गर्ने सङ्घसंस्था पनि बजेट हाल्नका लागि तयार छन् ।’  ताल पुनरोत्थानका लागि एक दशकसम्मै लाग्न सक्ने र बाँकी काम क्रमिक रुपमा अगाडि बढाइने जनाइएको छ । मोहना नदीतर्फ तटबन्धसमेत गर्नु पर्ने आवश्यक देखिएको छ । तालको रुप दिनका लागि बाँध बनाइने र अलि–अलि जनाइएको छ । त्यस्तै, ताल आसपासको क्षेत्रमा वृक्षारोपण पनि गरेर दुधुवासंग ‘कनेक्टिभिटी’ बढाउने रिजालले बताए ।   
स्थानीय संरक्षणकर्मी हिरुलाल डङ्गौराका अनुसार २०६६ को बाढीले ताल क्षेत्रमा बालुवा थुपारेको थियो । त्यसमा स्थानीयले खर जोगाएका थिए । वरपरबाट ताल क्षेत्र अतिक्रमण पनि हुँदै गएको थियो । पछि ट्रयाक्टर लगायतका साधन भएका व्यक्तिले ताल क्षेत्रलाई खनजोत गर्न थाले । अहिले १४÷१५ जनाले खनजोत गरेर सो जग्गाबाट फाइदा लिइरहेका छन् । 

तर, स्थानीय स्तरबाटसमेत तालको पुनरोत्थान गर्ने आवाज उठ्न थालेपछि जग्गाखनजोत गर्दै आइरहेका व्यक्तिहरु जग्गा छोड्नु पर्ने मानसिकता बनाइसकेको रिजाल बताउँछन् । ‘सबैले ताललाई पुनरोत्थान गर्ने कुरामा सहमति जनाएपछि उहाँहरुले (खनजोत गर्नेहरु) पनि जग्गा छोड्ने मनस्थिति बनाइ सक्नु भएको छ’, उनले भने । अन्तर्राष्ट्रिय महत्वको जैविकमार्गमा रहेको पुरैना ताल सारसको प्राकृतिक बासस्थानको रुपमा परिचित थियो । त्यसमा सारसले ‘ब्रिडिङ’ समेत गर्ने गरेका थिए । तर, ताल पुरिएपछि ती चराहरु पनि हराएका थिए । गत बर्खामा एक जोडी सारसको पुरैनामा ‘कमब्याक’ भएको थियो । झन्डै १२ वर्षपछि पुरैनामा सारस चरा देखिएका चराविदसमेत रहेका डङ्गौराको भनाइ छ । ‘बर्खा याममा पानी रहेको बेला अन्य चराचुरुङ्ग पनि देखिन्छन्’, उनले भने ।  

भग्नावशेषमात्रै बाँकी रहेको पुरैना तालको पुनरोत्थान कार्य अगाडि बढाउनका लागि प्रमुख जिल्ला अधिकारी किरण थापासहित सरोकारवाला निकायले स्थलगत अनुगमन गरेका छन् । यसैगरी, स्थानीयवासीसंग छलफलसमेत गरिएको छ ।