कैलालीमा कतै हरियाली, कतै खेत खाली
2022/06/24, 12:18
 
ss

खेत जोतेर तयार छ । ब्याड पनि तयार छ । तर, धनगढी उपमहानगरपालिकाका–८ का चरण रानाले रोपाइँ सुरु गर्न सकेका छैनन् । उनीमात्रै हैन, उनका छरछिमेकीले पनि यस वर्ष अझै रोपाइँ सुरु गर्न सकेका छैनन् । सबैको खेत मरुभूमि जस्तै छ । धुलो उडिरहेको छ ।

‘खेत जोतेर पूरै तयार भएको छ’, उनले थपे । ‘तर, पानीको पर्खाइमा छौं । रोपाइँ सुरु गरिएको छैन ।’ धानका लागि रासायनिक मल अभाव समस्या झेलिरहेका किसानले सिँचाइ सुविधा नहुनुको पीडा पनि खेपिरहेका छन् । ब्याड तयार भइसके पनि पानी नपरेका कारण कैलालीका कतिपय किसानको खेत खाली छ ।

खडेरीका कारणले उनीहरुलाई खेतीपातीको काम गर्न समस्या भएको छ । मनसुनी वर्षा हुन नसकेको बेला कटैनी नदीसहित खोलानानाला नै सुकिसकेको छ । पानी नपरिरहेको बेला खोलाबाट पानी तानेर सिँचाइ गरौं भन्दा त्यो पनि किसानलाई सम्भव नरहेको कैलारी गाउँपालिका–७ छटकपुरका विकास रत्गैयाले बताए । उनले रोपाइँ गर्ने बेला कटैनी नदी नै सुकेको जानकारी दिए ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले यस वर्ष सरदरभन्दा बढी वर्षा सुदूरपश्चिममा रहेको केही हप्ता पहिले नै पूर्व जानकारी गराइसकेको छ । यद्यपि, अहिलेसम्म हल्का वर्षा हुनुबाहेक सुदूरपश्चिममा बढी पानी परेको छैन । पानी नपर्दा किसानलाई रोपाइँ सहज भएको छैन । 

तर, कतिपय किसानले सिँचाइ असुविधाका बावजुद बोरिङले खेत सिँचाइ गरेर रोपाइँ गरिरहेका छन् । पानी नपरे पनि ब्याड तयार भएका कारण बोरिङले सिँचाइ गरेर रोपाइँ थालेको धनगढी उपमहानगरपालिका–२ शिवनगरका संगत चौधरीले बताए । पानी नपरे पनि बोरिङ भएका किसानले अलि–अलि भए पनि रोपाइँ गरिरहेका छन् । ‘पानी नपरे पनि बोरिङले सिँचाइ गरेर रोपाइँ गरिरहेका छौं’, उनले भने । 

कैलालीको पूर्वी क्षेत्रमा रानी जमरा कुलरिया सिँचाइ आयोजनाबाट केही खेती सिञ्चित हुने गरेको छ । तर, जिल्लाको अत्यधिक ठाउँमा सिँचाइ सुविधा छैन । त्यस्ता ठाउँका किसान बोरिङ वा आकाशे पानीको भरमा खेतीपातीको काम गर्दै आएका छन् । रानी जमरा कुलरिया सिँचाइ आयोजना अन्तर्गतका कुलोको पानीबाट टीकापुर नगरपालिका, जानकी गाउँपालिकाका किसानले खेतीपातीको काम गर्दै आएका छन् । सिँचाइ सुविधा भएको सो क्षेत्रमा केही किसानले रोपाइँ नै सकिसकेका छन् । 

त्यस्तै, जेठबाटै बोरिङको भरमा रोपाइँ थालेका कैलालीका अरु क्षेत्रका किसानले पनि रोपाइँ सम्पन्न गरिसकेका छन् । कैलारी गाउँपालिका–३ उत्तर भर्री गाउँका धेरै जसो किसानको रोपाइँ सकिएको छ । सो गाउँका छोटेलाल चौधरीले यसवर्षको रोपाइँ सकिएको जानकारी दिए । यो वर्ष किसानले आवश्यकतानुसार रासायनिक मल प्राप्त गर्न सकेका छैनन् । केहि हद्सम्म युरिया पाएका किसानसंग डीएपी भने पटक्कै छैन । डीएपी नपाएपछि त्यत्तिकै रोपाइँ गर्न बाध्य भएको कञ्चनपुरस्थित कृष्णपुर नगरपालिकाका कृषक नारायण रानाले बताए । ‘डीएपीबिनै यस वर्षको रोपाइँ सुरु गरिसकेका छौं’, उनले भने । 

सुदूरपश्चिमको पहाडी जिल्लामा भएको उत्पादनले त्यस क्षेत्रमा वर्षभरि खान पुग्दैन । ती जिल्लाहरुमा तराईबाट खाद्यान्न आयात गरिदैं आएको छ । त्यसैले पनि प्रदेश दुई जिल्ला कैलाली, कञ्चनपुरले खाद्य भण्डारको रुपमा लिइने गरिएको छ । यहाँको उत्पादनले प्रदेशकै पेट भर्ने कार्य हुने गरे पनि खेतीपातीको बेला जहिल्यै मल अभाव समस्या झेल्नु परिरहेको किसानको गुनासो छ ।

कतिपय किसानले बेर्ना तयार भइसके पनि मलबिना रोपाइँ सुरु गर्न सकेका छैनन् । उनीहरु अझै पनि मलकै पर्खाइमा रहेका छन् । धानको बेर्ना तयार भए पनि रोपाइँ गर्न नसकेको कृषक राजाराम चौधरीले बताए । ‘धान रोपाइँको बेला डीएपी मल आवश्यक पर्छ’, उनले भने । ‘तर, जति कोसिस गरे पनि डीएपी पाउन सकिएन ।’ डीएपी मल नहाली रोपाइँ गर्दा उत्पादन राम्रो नहुने गरेको किसानको बुझाइ छ । 

प्रादेशिक कृषि निर्देशनालयका अनुसार कैलाली, कञ्चनपुर दुवै जिल्लामा गरेर कुल एक लाख १८ हजार हेक्टर जमिनमा बर्खे धान खेती हुने गरेको छ । जसमध्ये कैलालीका करिब ७० हजार र कञ्चनपुरमा ४८ हजार हेक्टर जमिनमा धानखेती हुँदै आएको जनाइएको छ ।