महाकाली सन्धी भएको २७ वर्षपछि नेपालले पानी पाउँदै
2022/06/28, 11:19
 
ss

महाकाली सन्धि भएको २७ वर्षपछि नेपालले पानी पाउने भएको छ । भारतीय पक्षले सोमबारदेखि परीक्षणका लागि भन्दै महाकाली तेस्रो चरणको मूल नहरमा टनकपुर ब्यारेजबाट पानी छाडेको हो । भारततर्फ रहेको झन्डै १२ सय मिटर लम्बाइको नहरमा पानी छाडेको आयोजना कार्यालयले जनाएको छ ।

महाकाली सिँचाइ तेस्रो चरण आयोजना कार्यालयका इन्जिनियर शम्भु पण्डितले भारततर्फ बनेको मूल नहरमा पानी छाडेको बताए । ‘सोमबारदेखि भारतीय क्षेत्रमा पर्ने नहरमा पानी छाडिएको छ,’ उनले भने, ‘१५ असारदेखि नेपालतर्फ निर्माण भएको नहरमा पानी खसाल्ने तयारी छ ।’ धान दिवसलाई मध्यनजर गर्दै महाकाली तेस्रो चरणको नहरमा आएको पानीबाटै सिँचाइ गरेर उद्घाटनको तयारीमा रहेको उनले बताए । 

नेपालतर्फ नहर निर्माण भएको झन्डै १६ वर्षमा पानी आउन लागेको हो । ०६३ मा सरकारले ब्रह्मदेवदेखि पूर्वतर्फ नहर निर्माण सुरु गरेको थियो । नेपालतर्फ साढे १८ किलोमिटर नहरमा पानी परीक्षण गरिनेछ । ब्रह्मदेवदेखि मुसेपानीसम्म झन्डै १३ किलोमिटर नहर यसअघि नै निर्माण सम्पन्न भइसकेको छ । मुसेपानीदेखि बगुनसम्म साढे पाँच किलोमिटर नहरसम्मै पानी परीक्षण गरिनेछ । बुधबारदेखि नेपालतर्फको नहरमा पानी परीक्षण गरिने इन्जिनियर पण्डितले बताए ।

महाकाली तेस्रो चरण आयोजनाका निर्देशक रणबहादुर बमले सुरुमा पाँचदेखि सात क्युसेक पानी छाडेर परीक्षण गरिने बताए । ‘सुरुसुरुमा न्यून पानी राखेर परीक्षण गरिनेछ,’ उनले भने, ‘कतै नहर लिकेज हुन्छ कि भनेर अध्ययन पनि गर्छौं, सोहीअनुरूप अघि बढ्छौँ ।’ 

आयोजना प्रमुख बमले दुई वर्षभित्रै मूल नहरसहित शाखा नहर निर्माण गरिने बताए । बढी भएको पानी मुसेपानी र स्याली नदीमा खसालिनेछ । महाकाली नदीको पानी टनकपुर बाँधदेखि ल्याइनेछ । महाकाली तेस्रो चरणअन्तर्गतको नहरको पनि हेड रेगुलेटर भारतकै नियन्त्रणमा हुनेछ । 

सरकारले दुई वर्षअघि महाकाली सिँचाइ आयोजनालाई राष्ट्रिय गौरवकै आयोजनाका रूपमा अघि बढाएको छ । राष्ट्रिय गौरवको आयोजनामा राखे पनि बजेट अभावले मूल नहर निर्माणमै ढिलाइ भइरहेको छ । चालू आर्थिक वर्षमा एक अर्ब २५ करोड र आगामी आर्थिक वर्षमा एक अर्ब ५२ करोड बजेट विनियोजन भएको छ । नहर निर्माण ढिलाइ हुँदा आयोजनाको लागतसमेत बढिरहेको छ । 

नहर निर्माण गरेको १६ वर्षमा साढे १८ किलोमिटर मात्रै मूल नहर निर्माण भएको छ । अझै एक सय ३३।५ किलोमिटर नहर निर्माण गर्न बाँकी छ । नेपाली पक्षले नहर निर्माण सुरु गरेको एक दशकपछि भारतीय पक्षले आफ्नो भूमिमा नहर बनाएको थियो । महाकाली तेस्रो चरणको नहरमा पानी सञ्चालन भएपछि नेपाली किसान हर्षित भएका छन् । कञ्चनपुरको ब्रह्मदेवदेखि पूर्व कैलालीको मालाखेतीसम्म मूल नहर निर्माण हुनेछ । महाकाली तेस्रो चरणको सिँचाइ आयोजनाले ३४ हजार हेक्टर जमिन सिँचित हुनेछ । 

के थियो महाकाली सन्धिमा ?

०५२ मा भारतसँग भएको ‘शारदा बाँध तथा पञ्चेश्वर परियोजना र महाकाली नदीको एकीकृत विकाससम्बन्धी’ सन्धि सम्झौताअनुसार भारतीय पक्षले आफ्नो भू–भागमा १२ सय मिटर नहर निर्माण गर्नुपर्ने थियो ।

सन्धिको धारा २ को उपधारा २ अन्तर्गत नेपाललाई टनकपुर बाँधबाट सुक्खायाममा तीन सय क्युसेक र वर्षात्मा एक हजार क्युसेक पानी उपलब्ध गराउने उल्लेख भए पनि सन्धिअनुरूप भारतीय पक्षले नहर निर्माण नगर्दा नेपालले पानी पाउन सकेको थिएन ।

झन्डै १५२ किलोमिटर मूल नहर निर्माण गर्नुपर्ने भए पनि हालसम्म साढे १८ किलोमिटर मात्रै नहर निर्माण भएको छ ।