गाउँमुनीबाट पोहर–परारै पहिरो गएको छ। गाउँमाथिबाट पुरै डाँडा खस्ने अवस्थामा छ। आकासको गड्याङ्ग गुडिङ्ग र वर्षाका कारण रातभर सायल–४ भल्माका स्थानीयहरु रातभर सुत्नै सक्दैनन्। सायल गाउँपालिकाले आयोजना हालै आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै गोरे दमाईले आँखा मिच्दै गुनासो सुनाउनुभयो, कति बेला पहिरो आउँछ र गाउँ नै सखाप पार्छ भनेर गाउँको फेद र शिरमा पालैपालो पहरा बस्ने गरेका छौं ।
हिजो पहरा बस्ने मेरो पालो थियो । हामीलाई यो त्रासबाट मुक्त गरिदिनु प¥यो । दमाईको गुनासोको जवाफ दिदै गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीले गाउँपालिकाको बजेट र स्रोतले उहाँजस्तै अन्य सयौं व्यक्तिहरुको समस्या समाधान गर्न निकै कठिन रहेको बताए । बाढी र पहिरोका कारण गाउँपालिकाका दर्जन बढी बस्तीहरु जोखिममा रहेका छन्, उनले भने, वर्षेनी मानव, पशु चौपाया, कृषि उत्पादन र जमिनको क्षति हुने गरेको छ।
यसको एउटै विकल्प छ, बस्ती स्थानान्तरण त्यो स्थानीय सरकारको स्रोतले भ्याउन सकिदैन यसमा संघ, प्रदेश सरकार पनि गम्भिर हुन जरुरी छ । हामी सबै तहका सरकारसँग समन्वय गरेर अघि बढ्ने छौं ।’ बाढी र पहिरोले वर्षेनी जनधनको क्षति गरिरहेको भए पनि सरकार र सरोकारवाला निकाय सायलका जनताप्रति उत्तरदायी नदेखिएको सायल गाउँपालिका– २ घुर्केलाका गणेशबहादुर ओलीले बताए । जनधनको क्षति भएको समयमा सरकार अनि सरोकारवाला संघ, संस्था केही थान पाल र खाद्यान्न फालेर जान्छन् त्यसपछि यहाँका जनताको अवस्था के छ भनेर कोही सोध्न पनि आउँदैनन्, उनले भने, यहाँको समस्या समाधानका लागि दीर्घकालिन छुट्टै परियोजना सञ्चालन हुनुपर्छ हैन भने वर्षेनी जनताले ज्यान गुमाउनु पर्छ ।
सायल गाउँपालिका–४ भल्माका मात्रै नभै अन्य गाउँका स्थानीयहरु पनि वर्षातको समयमा डरैडरले निदाउँनु पर्ने बाध्यता रहेको गाउँपालिका उपाध्यक्ष निर्मला बोहरा ओलीले बताए । बाढी पहिरोको जोखिम भल्लामा मात्रै छैन । उनले भने, गाउँपालिकका दर्जन भन्दा बढी बस्तीहरु जोखिममा रहेका छन् ।’ गाउँपालिकाको तथ्याङ्क अनुसार वडा नम्बर ४ मा रहेका भल्मा, कुनाकाट्टे, घङारे, बाबनसैन र डौड लगायतका बस्तीका २५० घरधुरी जोखिममा रहेका छन् । त्यस्तै वडानम्बर ५ का ढिपु र सुनिबाटा गरी ६० घरधुरी, वडा नम्बर ६ को रौकल्लाका ७० घरधुरी पहिरोको उच्च जोखिममा रहेका छन् ।
त्यस्तै वडा नम्बर २ को सिर्मा गाउँका १२० र घुर्केला गाउँका ३४ घरधुरी उच्च जोखिममा रहेका छन् । वडा नम्बर १ कुसिनाऔल र छपालीका ५० भन्दा बढी घरधुरी जोखिममा रहेका छन् । डोजर लगायर ग्रामीण सडक निर्माण गरिएका क्षेत्रका सडक किनारका बस्ती पनि जोखिममा रहेको गाउँपालिकाका अध्यक्ष जोशीले जानकारी दिए । बाढी पहिरोको जोखिमसँगै सञ्चार अभावका कारण विपदका समयमा समस्या पर्ने गरेको वडा नम्बर ४ का वडाध्यक्ष जगतबहादुर साउँदले बताए । पानी प¥यो, बादल लाग्यो र साँझ प¥यो भने गाउँपालिका भरी फोनको नेटवर्क हुँदैन, एफएम रेडियोहरु पनि सुनिदैन, उनले भने, कुहिरोले छोपेका कारण कहाँ के भयो हेर्न पनि सकिदैन, बाटो पनि अवरोध हुन्छ । पोहर पहिरोमा मानिस च्यापिएको खबर तीन दिनपछि मात्रै जानकारी भएको थियो । यसले गर्दा उद्धारमा पनि समस्या भएको थियो । गाउँलेहरु सञ्चार बिहिन हुने कारणले कहाँबाट पहिरो आयो, कति पानी प¥यो आपत विपत आइहाले सबैलाई सूचना दिएर, भागेर ज्यान जोगाउला भनेर पालैपालो पहरा बस्ने गरेको उनको भनाई छ ।
बाढी पहिरोमा १३ जनाको मृत्यु
सायल गाउँपालिकाको विभिन्न क्षेत्रमा गएको पहिरोका कारण २०५२ सालयता १३ जना भन्दा बढीको मृत्यु भएको छ । त्यतिकै मात्रामा पशुचौपाया र घर जमिनको क्षति भएको छ । गत वर्ष असोज ३० गतेदेखि कार्तिक २ गतेसम्म आएको अवरिल वर्षा र बाढीमा परेर छ जनाले ज्यान गुमाएका थिए । गाउँपालिकाको वडा नम्बर १ मा एक जना, वडा नम्बर ४ मा एक जना, वडा नम्बर ५ मा दुई जना र वडा नम्बर ६ मा दुई जना गरेर छ जनाको पहिरोमा च्यापिएर ज्यान गएको थियो ।
बाढी र पहिरोका कारण दुई सय भन्दा बढी घर परिवार विस्थापित भएका थिए । ४१ घरमा पूर्ण क्षति भएको थियो । घरमा बाँधेर राखेका पशुचौपाया समेत पहिरोमा च्यापिएका थिए । खेतियोग्य जमिन सहित अन्नपानि समेत बाढीले पुरेको थियो । त्यस्तै २०५२ साउन २५ गते आएको बाढीमा परेर सात जनाको मृत्यु भएको थियो । तत्कालिन गाविस सचिव लालबहादुर बोगटीका अनुसार घर्केला र बाबनसैनमा जनधन र जमिनको ठूलो क्षति भएको थियो । ४० घर पहिरोले पशुचौपाया र खद्याान्न सहित पुरेको थियो ।
यी एकै समयमा बढी क्षति भएका प्रमुख घटनाहरु भए पनि सायल गाउँपालिकामा बाढी पहिरोबाट वर्षेनी मानवीय क्षति हुँदै आएको स्थानीयहरु बताउँछन् । सो क्षेत्रमा यस वर्ष पनि बाढी पहिरोको उच्च जोखिम रहेको छ । अघिल्लो वर्षको वर्षातले र ग्रामीण सडकले ठाउँ–ठाउँमा चिरा पारेको छ। डाँडाँपाखामा रहेका बस्तीहरु झन्नै जोखिममा रहेका छन् । गाउँपालिकाले पूर्व तयारी स्वरुप तत्काल राहत दिन पाल र खाद्यान्न राखेको गाउँपालिका अध्यक्ष जोशीले बताए । धेरै वर्षा भयो भने सडक पनि बन्द हुने गरेको छन् । त्यस्तो अवस्थामा सडक तत्काल सञ्चालन गर्न गाउँपालिकाको डोजर पनि तयारी अवस्थाममा राखेका छौं उनले भने ।