कैलालीको कैलारी गाउँपालिका-३ शिवरत्नपुर गाउँ जोगाउन मोहना नदीमा बनाइएको २० लाखको तटबन्ध यो वर्ष आएको पहिलो बाढीले नै बगेको छ । बस्तीलाई जोगाउनका लागि गाउँपालिकाको लगानीमा १५ लाखको भौतिक तटबन्धको काम र विपद जोखिम न्यूनीकरण अन्तर्गत ५ लाखमा जैविक तटबन्धको काम सम्पन्न भएको थियो ।
मोहना नदीको भार सोझै वस्तीतर्फ आएपछि भौतिक तटबन्धको काम बैशाख ६/७ गतेबाट सुरुवात भएर जेठ १५ गते सम्पन्न भएको थियो । त्यस्तै, शिवरत्नपुरबासीहुरू भौतिक तटबन्धलाई जोगाउनका लागि जैविक तटबन्ध पनि निर्माण गरेको तटबन्ध निर्माण उपभोक्ता समितिका अध्यक्ष सन्तराम चौधरीले बताए ।
उनले भने, ‘भौतिक तटबन्धको काम जेठ १५ गते सम्पन्न भएको थियो । भौतिक तटबन्धलाई जोगाउनका लागि जैविक तटबन्धको काम पनि गरेका थियौँ ।’
धेरै मिहिनेत गरेर बनाइएको भौतिक र जैविक तटबन्ध असार महिनामा आएको पहिलो बाढीमा बगेको छ । गएको वर्ष असोज–कात्तिकमा आएको बेमौसमी बाढीले मोहना नदीको धार गाउँतर्फ आएको थियो । भौतिक तटबन्धले मात्र पानीको बहाव रोक्न सम्भव नरहेको ले जैविक तटबन्ध पनि बनाइएको हो । तर, दुवै तटबन्ध बाढीले बगेपछि बस्ती उच्च जोखिममा छ ।
गत वर्ष असोज–कात्तिकमा आएको बेमौसमी बाढीबाट काटेर राखेको सबै गाउँको धान बग्नुका साथै खेतीयोग्य जमिन बालुवामा परिणत गरेर शिवरत्नपुरको स्थानीयले धान पनि नलगाएको समितिका अध्यक्ष चौधरीले बताए । शिवरत्नपुर गाउँमा गत वर्ष बेमौसमी बाढीले करिब ९५ घरधुरीको धान बगाएर लगेको र खेती योग्य जमिनमा बालुवा ल्याएर थुपारेको उनले बताए । बर्सेनि बर्खाको बेला कटान गरी मोहना नदी सयौं बिघा खेतीयोग्य काटेर लगेको उनले बताए ।
शिवरत्नपुर गाउँका स्थानीय कमल चौधरी वस्ती जोगाउनका लागि भौतिक र जैविक तटबन्ध बनाइएको तर, असारको बाढीले बगाएर लगेपछि तटबन्धको नामनिशान नरहेको बताए । 'बाढी आउनेबित्तिकै सुरुमा १५ घरधुरीको उठीबास हुने अवस्था छ,’ उनले भने, ‘नदीको धार सोझै गाउँतर्फ आएका कारण १५ घरधुरीसँगै ठूलो बाढी आएमा यो बस्तीको ९५ घर पनि उच्च जोखिममा छ । भाग्ने पनि समस्या छ ।’
‘गाउँभरका मान्छे बैठक गरी भल्मन्सामार्फत गाउँसभा परिषदमा निवेदन दिएर नदीको धार परिवर्तन गर्न भनेका छौं', उनले थपे, ‘हाम्रोले आफ्नो उपाय अपनायो गाउँपालिकाको आफ्नो उपाय छ भने बस्ती जोगाउन पहल गर्न भनेका छौं ।’बस्तीका अर्का स्थानीय सुदेशु चौधरी बस्ती जोगाउनका लागि नदीभन्दा ३० मिटर दूरीमा तटबन्ध बनाएको तर, अहिले नदी बाटेर एक मिटर मात्र बचाएको बताए ।
‘पूरा बर्खा अझै छँदैछ, उनले भने, ‘तटबन्ध भत्क्यो कि बाढी सिधा गाउँ पस्छ । तटबन्ध नजिकै बस्ती छ । त्यो बस्तीको १५ घर धेरै जोखिममा रहेको छ । बस्ती जोगाउनका लागि ८ बाट भौतिक तटबन्ध बनाइएको थियो । ६ वटा पूरै बगाएको छ भने २ वटा अलिअलि बचेको छ, त्यो पनि बग्ने बेर छैन ।’