कञ्चनपुरमा निर्माणाधीन मझगाउँ विमानस्थलको काम जग्गा प्राप्तिमै अल्झीयो
2022/07/11, 11:55
 
da

 कञ्चनपुरमा निर्माणाधीन मझगाउँ विमानस्थलको काम जग्गा प्राप्तिमै अल्झीएपछि निर्माणले गति लिन सकेको छैन् ।विमानस्थलको दक्षिणतर्फ रत्न वाटिका र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ नेपाली सेना मातहत रहेको जमिन नपाउँदा निर्माणले गति लिन नसकेको हो। अहिले विमानस्थलको लम्बाइ करिब १ हजार मिटर क्षेत्रफलमा धावनमार्ग निर्माण भइरहेको छ।

रत्न वाटिका र सेनाले भोगचलन गरिरहेको जमिनसहित जोड्दा विमानस्थलको लम्बाइ १५ सय २५ मिटर उक्त जमिनको भोगाधिकार विमानस्थलको नाममा नहुँदा धावनमार्ग निर्माणसमेत प्रभावित हुन थालेको छ । विमानस्थल आयोजना प्रमुख मीनराज ओझाले ‘रत्न वाटिका र सेनाले भोगचलन गरिरहेको जमिनको भोगाधिकार नपाउँदा काम प्रभावित हुने देखिएको बताए । अहिले विमानस्थलकै जमिनमा काम भइरहेको छ, भोगाधिकार नपाइए अब काम रोकिन्छ  उनले भने। जनप्रतिनिधिदेखि स्थानीयले जमिन उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । यसमा सेनाले समेत सहमति जनाएको छ उनले भने।

वैशाखमै जमिनको भोगाधिकार प्राप्तिका लागि मन्त्रालयमा फाइल बुझाइसकेको ओझाले बताए। अहिलेसम्म उक्त फाइल अगाडि बढेको छैन । यस विषयमा राजनीतिक दलका नेतादेखि जनप्रतिनिधि सबैसँग पहल गरिदिन आग्रह गरे पनि ठोस नतिजा आउन नसकेको उनले बताए। तीन महिनाअघि रत्न वाटिका क्षेत्रमा धावनमार्ग निर्माण सुरु गर्दा निकुञ्ज प्रशासनले उपकरणसँगै चालकलाई समेत नियन्त्रणमा लिएको थियो । मन्त्रालयबाटै जमिनको भोगाधिकार प्राप्त भएपछि निर्माण अगाडि बढाउने सहमतिपछि कामदार र उपकरण छाडेको थियो ।कञ्चनपुर क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा.दीपकप्रकाश भट्टले गत साता संसद्मा बोल्दै सेनाले विमानस्थलको जमिन सुटुक्क आफ्नो नाममा नामसारी गरेको भन्दै तत्काल फिर्ता गर्न माग गरेका छन् ।

लामो समयदेखि बन्द रहेको विमानस्थल निर्माण गत माघदेखि सुरु भएको हो । भीमदत्त नगरपालिकाको १५, दोधारा चाँदनी नगरपालिकाको १०, सुदूरपश्चिम प्रदेश सरकारको २५ र नागरिक उड्डयन प्राधिकरणको ५० प्रतिशत गरी तीनै तहको साझेदारीमा विमानस्थल निर्माण भइरहेको हो । पहिलो चरणमा धावनमार्गसँगै ट्याक्सी वे र एप्रोनलगायतको काम हुनेछ । दोस्रो चरणमा टर्मिनल भवनदेखि पहुँचमार्ग निर्माण गरिने आयोजनाले जनाएको छ । २०३४ देखि ०५७ सम्म सञ्चालनमा रहेको उक्त विमानस्थल संकटकालका बेला सुरक्षाको कारण देखाउँदै बन्द गरिएको थियो । तीन वर्षभित्र निर्माण सक्ने गरी कान्छारामरकेएसरउमा एन्ड कम्पनीसँग ४५ करोड ६६ लाख रुपैयाँमा सम्झौता भएको हो ।कान्तीपुरबाट