कञ्चनपुरका राना थारु गाउँमा सावनको डोलाको रौनक छाएको छ । राना थारु समुदायले गाउँको बीच भागमा दिदीबहिनीका लागि डोला (पिङ) राखेका छन् । साउन महिनाको सुरुमै राना समुदायले डोला राखेका हुन् । यो राना थारु समुदायको परम्परागत चलन हो । राना थारु बसोबास गर्ने गाउँमा साउन महिनामा सार्वजनिक स्थान पिङ राख्ने गरिन्छ ।
परम्परागत पहिरनमा सजिएका राना थारु महिला आफ्नै पारामा गीत गाउँदै पिङमा मच्चिएर आनन्द लिने गर्दछन् । पिङ भने महिलाले राख्दैनन् । सामूहिक भेला हुने सार्वजनिक ठाउँमा दाजु भाइले दिदीबहिनीका लागि पिङ राख्ने चलन पुरानै रहेको छ । ‘यो चलन परम्परागत रुपमा चल्दै आएको छ’, धनबहादुर रानाले भने–‘दिदीबहिनीले पिङमा मच्चिदै रमाइलो गर्दै माङ्गलिक गीत गाउने गर्दछन् ।
पिङलाई रानाथारु भाषमा डोला भन्ने गरिन्छ । चारवटा काठको खावाँमा डोरीमा काठको फल्याक बाधेर पिङका रुपमा प्रयोग गरिन्छ ।’
पिङ खेल्ने दिदीबहिनीको उत्साह थप्नका लागि ठूलो आवाजमा दाजुभाइले गीत गाउने चलन यस समुदायमा रहेको छ । यसबाट दिदीबहिनी र दाजुभाइबीच आत्मीयता बढ्ने भएकाले यसलाई बढी महत्व दिइने गरिएको राना थारु अगुवा नवलसिंह रानाले बताए । दिदीबहिनीले पानीसमेत नपिएर निरहार बसी दाजुभाइको दीर्घायुको कामना गरी यस अवसरमा तिज मनाउने गर्दछन् । निरहार बसेका दिदीबहिनीले प्रसादका रुपमा परम्परागत पकवान सिमही, पपरा, पुरी, गुलगुला बनाउने गर्दछन् ।
गडरौँदा जातको घाँसमा विवाहिताले सात गाँठा र अविविहीतले पाँच गाँठा पारी चाँदीको गहनाले काटेर नदीको बीच भागमा पुगेर बत्तीसँगै विर्सजन गर्ने चलन रहेको छ । विर्सजन गर्ने बेला दिदीबहिनीले दाजुभाइलाई धन सम्पत्ति, उन्नति र नदीको धारजस्तै दाजुभाइको आयु बढोस् भनी बरदान माग्ने गर्दछन् ।
जति टाढा घाँस बगेर जान्छ त्यति बढीनै दाजुभाइको आयु बढ्ने विश्वास यस सामुदायमा रहेको छ । ‘विर्सजन गर्न जाने बेला गाँउका युवाले दिदीबहिनीलाई बाटोमा लामो डोरीमा बेरेर घेर्ने प्रयत्न गरी हस्यौली ठट्यौली र मनोरञ्जन लिने गर्दछन्’, नवल सिंहले भने । ‘जसलाई राना थारु भाषामा झुडकी छिराउने भन्ने गरिन्छ ।’ माइतीलाई भेटन नपाएका दिदीबहिनी यसै अवसरको सदुपयोग गर्दै भेटघाट गर्न आउने भएकाले यसले वर्षभरिको सुखदुःख साटासाट गर्ने अवसरका रुपमा लिने गर्दछन् । यस अवसरमा घरघरमा बनाइएका परम्परागत पकवान सिमही, पपरा, पुरी, गुलगुला बनाई आफन्तलाई बाँड्दै घरका सबैले सँगै बसेर खाने चलन यस समुदायमा रहेको छ ।
तीजका अवसरमा महिलाले घंघरिया, अंगिया, फतुइ र घुँगट लगाउने गरेका छन् भने आभूषणमा पैडा, कठुला, हरवालगायत घाँटीदेखि खुट्टासम्म लगाउने गर्दछन् । कैलाली र कञ्चनपुरमा मात्रै बसोवास भएका राना समुदायको यो महत्वपूर्ण पर्वका रुपमा रहेको छ । दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गर्दै यस पर्वलाई मनाउँदा छन् । साउनको शुक्ल तृतीयाका दिन यस पर्वको विधिवत्रुपमा समापन गर्ने गरिन्छ ।
दाजुभाइले तीज पर्व आउन १५ दिनअगावै दिदीबहिनीको घरमा गएर निम्ता दिई बोलाएर ल्याउनुपर्ने चलन रहेको छ । परम्परागत राना थारु समुदायका महिलाले मनाउने यो पर्व साउन महिनाभरि मनाइने गरिन्छ । संस्कृति बचाउनुपर्छ भन्ने भावना हाल राना थारु समुदायका युवा पिँढीमा रहेकाले यस पर्वलाई जीवित राख्नका लागि प्रत्येक वर्ष गाउँमा सावनको डोला राख्ने कार्य गर्दै आएका छन् । गाउँका दिदीबहिनीले समेत यस कार्यमा साथ दिँदै आएका छन् ।