कैलालीका किसान शीत भण्डारको पर्खाइमा
2022/07/24, 5:53
 
a

कैलालीको टीकापुर नगरपालिका–१ वनगाउँका रामबहादुर चौधरी व्यावसायिक तरकारी खेती गर्छन् । उनले मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्दै आए पनि बजारीकरणको समस्याका कारण मौसमी तरकारीबाट राम्रो आम्दानी लिन सकेका छैनन्।

उनले एक याममा १०० क्विन्टलभन्दा बढी आलु उत्पादन गर्छन् । त्यो समयमा सबैसँग आलुको उत्पादन भएका कारण उनले रू।२० प्रतिकिलो विक्री गर्नुपर्ने बाध्यता छ । ‘उत्पादन नभएर किसान मर्कामा छैनन् । किसान बजारीकरणको समस्याका कारण मर्कामा छन् । हिजो हामीले रू। २० प्रतिकिलो विक्री गरेको आलु आज बजारमा रू। ६० मा आफैँले खरिद गरेर खानुपर्ने अवस्था छ ।

’रामबहादुरले भने, ‘यदि उत्पादन गरेको तरकारीलाई भण्डारण गर्ने व्यवस्था भएको भए हामीले लागतभन्दा कममा आफ्नो उत्पादन विक्री गर्नुपर्ने अवस्था आउने थिएन।’ टीकापुरकै अरुण चौधरी पनि व्यावसायिक तरकारी खेती गर्छन्। उनले बेमौसमीभन्दा बढी मौसमी तरकारी खेती गर्छन् । ‘सिजन’मा सबैले तरकारी खेती गर्ने भएका कारण अरुणले उत्पादन भएको वस्तुबाट चाहेजस्तो फाइदा लिन सकेका छैनन् । ‘बजारीकरण वा भण्डारणको राम्रो व्यवस्था भए उत्पादन भएको वस्तुलाई राम्रो मूल्यमा विक्री गर्न सकिन्थ्यो,’ अरुणले भने, ‘रानीजमरा कुलरिया सिँचाइ आयोजनाले कृषिमा राम्रो सहयोग गर्दै आएको छ त्यसलाई बजारीकरण र भण्डारणको लागि व्यवस्था गर्न सकेको भए किसानलाई राहत हुने थियो।’

कार्यान्वयन एकाइले निर्माण गर्ने भनिएको शीतभण्डारलाई लक्षित गर्दै किसानले गुनासो बढी गर्ने गरेका छन्। आर्थिक वर्ष २०५७र०७६ मा नै शीतभण्डार निर्माणको लागि बजेट विनियोजन गरेको थियो । तीन वर्षदेखि निर्माणको प्रक्रियामा रहेको शीतभण्डार निर्माणको काम चालु आर्थिक वर्षमा शुरु हुने भएको छ । राष्ट्रिय गौरवको आयोजना रानीजमरा कुलरिया सिँचाइ आयोजना अन्तर्गतको कृषि कार्यक्रम कार्यान्वयन एकाइको ७५ प्रतिशत र किसानको २५ प्रतिशत लागत रहने गरी निर्माण हुने भनिएको शीतभण्डारको काम चालु आवमा शुरू हुने भएको हो। तीन वर्षदेखि कुलो समितिले उठाउनुपर्ने रकम संकलन हुन नसक्दा बजेट कार्यान्वयनमा ढिलाइ हुँदै आएको थियो । तीन कुलो समितिको हुन आउने रकमको रू। ८५ लाख जम्मा गरेर बाँकी रू। एक करोड १५ लाख टीकापुर नगरपालिकाले उपलब्ध गराउने भएपछि कार्यान्वयन एकाइले शीतभण्डारको काम अगाडि बढाएको कार्यान्वयन एकाइका प्रमुख गोविन्दराज जोशीले बताएका छन् । रासस