कञ्चनपुरका किसानको खेतबारीमा बाँदर आतंक
2022/08/03, 1:26
 
ss

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका व्यावसायिक तरकारी खेतीमा संलग्न किसानले बाँदरका कारण हैरानी खेप्नुपरेको छ । बारीमा लगाएको तरकारी बाँदरले खाइदिन थालेपछि किसान मारमा परेका हुन् ।

लौका, काँक्रा, बोडी, करेलालगायतका तरकारी बाँदरले नोक्सान गर्दैआएका छन् । “गाउँ नजिकैको कालिका सामुदायिक वन क्षेत्रबाट आउने बाँदरको हुलले बारीमा फलेका तरकारी केही बाँकी राख्दैनन”, स्थानीय तेजबहादुर चौधरीले भने, “असारयता किसानको लाखौँ मूल्यको तरकारी बाँदरले खाइसेको छ ।”

चौधरीको मात्रै बाँदरले रु ३५ हजार मूल्य बढीको तरकारी नोक्सानी गरेको छ । अर्का व्यावसायिक तरकारी खेतीमा संलग्न किसान वीरेन्द्र चौधरीको रु २० हजार बराबरको तरकारी बाँदरले खाइदिए । दैनिक बाँदरको हुल गाउँमा पस्ने गरेको छ । स्थानीयवासीले भगाउँदा सामुदायिक वनका नजिकका रुखमा बस्ने र तरकारी बारीमा कोही नभएको बेला हुलका हुल आएर एकैपटक पूरै बारीको तरकारी खाने र तोडेर लैजाने गरेको स्थानीय चन्द्रबहादुर चौधरीले बताए ।

बजारमा बेच्नका लागि तयार भएको मकैसमेत बाँदरले बाँकी नराखेको उनले बताए । बेलडाँडी गाउँका अधिकांश किसान तरकारी खेतीमा संलग्न छन् । बाँदरको हुल नै बारीमै पसरेर तरकारी नोक्सानी गर्न थालेको छ । बाँदर नियन्त्रणका लागि स्थानीय किसानले माग गरेका छन् ।