बाजुरामा पहिलो पटक स्त्रीरोग विशेषज्ञ डाक्टर आउँदै
2022/08/04, 11:24
 
bajura

स्त्री रोग विशेषज्ञ नहुँदा महिला तथा त्यसैमा पनि गर्भवती महिलालाई उपचारमा समस्या भइरहेको बाजुरामा अब स्त्रीरोग विशेषज्ञ डाक्टर आउने भएका छन्। स्वास्थ्य सेवाका हिसाबले पछि रहेको बाजुरा जिल्लामा विशेषज्ञ डाक्टर नहुँदा उपचारमा निकै समस्या हुने गरेको छ। जिल्ला अस्पताल बाजुरामा उपचारका लागि आउने महिलाहरुलाई स्त्रीरोग विशेषज्ञ नहुँदा धेरै रोग लुकाउनु पर्ने अवस्था छ।

बुधबार मात्र जिल्लामा स्त्री रोग विशेषज्ञ नहुँदा दुई जना गर्भवती महिलालाई हेलिकोप्टरबाट उपचारका लागि बाहिर लगिएको थियो। जिल्ला अस्पताल बाजुरामा मेडिकल सुपरिटेण्डेण्टको जिम्मेवारी पाए लगत्तै स्त्री रोग विशेषज्ञका लागि पहल सुरु गरेका डाक्टर मिलन जोशीले अबको एक साता भित्र स्त्रीरोग विशेषज्ञ जिल्ला अस्पतालमा हाजिर हुने बताए।

अन्य सेवा तथा उपचार नियमित भैरहेको भएपनि स्त्रीरोग विशेषज्ञ नहुँदा गर्भवती महिलाको उपचारमा समस्या हुने गरेको डाक्टर मिलनको भनाई छ। दुर्गम जिल्ला भएकाले धेरै डाक्टरहरु बाजुरा आउन मान्दैनन् डाक्टर मिलनले भने कोही आइहाले पनि बस्न मान्दैनन्,अहिले एक जना स्त्रीरोग विशेषज्ञ डाक्टरलाई कन्भेन्स गरेर बाजुरा आएर सेवा दिने पक्का भएको छ।

बाजुरा जिल्लामा कुनैपनि ठाउँमा स्त्रीरोग विशेषज्ञ नहुँदा स्वास्थ्य शिवीरहरु सञ्चालन गर्न समेत समस्या भइरहेको उनको भनाई छ। उनले शिवीर सञ्चालन गर्दा अधिकांश महिलाहरु उपचारका लागि आउने गरेको बताउँदै त्यसका लागि स्त्रीरोग विशेषज्ञ अनिवार्य देखिएको बताए। यी सबै समस्याका कारण स्त्रीरोग विशेषज्ञ बाजुरामा ल्याउन आफूले पहल गरेको डाक्टर मिलनले बताए।

पहिलो पटक गाउँमै  स्त्रीरोग विशेषज्ञ डाक्टर आउँदा स्थानीय हर्षित भएका छन्। सुत्केरी बेथाले च्याप्दा पनि गाउँमा उपचार हुन नसक्दा हेलिकोप्टरमार्फत बाहिर लैजानुपर्दा कतिपय अप्रिय घटना सुन्नु परेका गाउँलेहरू अब भने गाउँमै स्तरीय स्वास्थ्य सेवा पाउँने कुराले हर्षित भएका हुन्।