खेलाडीको प्रश्नः तीन वर्षदेखिको पुरस्कार किन पाएनौं ?
2020/05/12, 3:02
 
u 18

सन् २०१७ को सेप्टेम्बरमा भुटानमा आयोजना भएको साफ यू–१८ फुटबल च्याम्पियनसिपको उपाधि नेपालले जितेको थियो । थिम्पुमा भएको च्याम्पियनसिपमा नेपाल लगातार दोस्रो पटक च्याम्पियन बनेको थियो । दोस्रो पटक च्याम्पियन बनेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेलाडीलाई नगद सहित पुरस्कारको घोषणा गरेको थियो । तर, च्याम्पियनसिप सकिएको ३ वर्ष पुग्नै लाग्दा समेत खेलाडीले तोकिएको पुरस्कार पाउन सकेका छैनन् । लामो समय तोकिएको पुरस्कार नपाएपछि खेलाडीहरु एन्फालाई प्रश्न गर्न थालेका छन् ।


‘आशा गर्दा गर्दा १७ को पुरस्कार २० सम्म आईपुगिसक्यो । त्यसको अत्तोपत्तो छैन । अब कस्लाई के भन्नु ?’ साफ जित्दाका कप्तान तथा गोलरक्षक अर्पण कार्कीले भने । उपाधि जितेपछि नरेन्द्र श्रेष्ठको अध्यक्षमा रहेको एन्फाको कार्य समितिले विजेता खेलाडीलाई २ लाख सहित पुरस्कृत गर्ने घोषणा गरेको थियो । तर, एन्फा नेतृत्व सम्हाल्न आईपुगेका कर्मा छिरिङ शेर्पाको कार्य समितिले बेवास्ता गर्दा खेलाडीले पुरस्कार पाउन सकेका छैनन् । शेर्पाको नेतृत्वमा रहेको कार्य समितिले समेत खेलाडीको पैसा दिने बताउँदै आएको छ । तर, त्यो भाषणमै सिमित बनेको छ ।


यस अघि एन्फाले मंसीरमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) अघि नै पुरस्कार दिने भनेर खेलाडीलाई लोभ देखाएको थियो । ‘साग अघि नै पैसा दिन्छौं भनिएको थियो । दिन्छु भन्ने मात्रै तर नदिने एन्फाको प्रवृति भयो । म्याच जितेपछि पनि पैसा नपाउँनुको कारण के हो,’ च्याम्पीयन टिमका एक सदस्यले भने । छिरिङ लोप्साङ साफ जित्दा टिमको प्रशिक्षक थिए । उनी एन्फा प्रदेश कमिटि–३ का प्रशिक्षक रहेका छन् । टिमको व्यवस्थापकमा तत्कालिन एन्फा सदस्य गणेशबहादुर चन्द थिए । चन्द अहिले एन्फाको कार्य समितिमा छैनन् ।


तत्कालिन समय एन्फाको कार्य समितिले पुरस्कार दिने निर्णय गरेको तर नयाँ आएको कार्य समितिले बेवास्ता गर्दा खेलाडीले घोषित पुरस्कार रकम नपाएको चन्द बताउँछन् । ‘तत्कालीन कार्य समितिबाट पुरस्कार बापत २ लाख दिने घोषणा भएको हो । पैसा नहुँदा केही समयपछि दिने कुरा पनि भएको थियो । पछि माहोल चुनावमय भयो । नयाँ टिम आयो । तर पहल नै भएन,’ चन्द भन्छन् । चन्दले विराटनगरमा भएको साधारण सभामा समेत खेलाडीले पैसा पाउनुपर्ने माग राखेका थिए । पछि सबै तहका खेलाडीलाई एन्फाले पुरस्कार दिएपनि यस टिमलाई भने पुरस्कृत गरेन् ।


यस अघि एन्फाले गत असोजमा विभिन्न विधाका उमेर समूहका खेलाडीलाई नगद पुरस्कार हस्तान्तरण गरेको थियो । एन्फाले भारतमा भएको यू–१५ साफ उपविजेता टिमका खेलाडीलाई जनही २५ हजार र साफ–१८ फुटबलमा समूह चरणबाटै बाहिरिने टिमका प्रत्येक सदस्यलाई १० हजार दिएको थियो । यस्तै एन्फाले किर्गीस्तानमा भएको नादेझ्दा कपमा उपविजेता महिला टिमलाई ५० हजार र विश्वकप छनोटमा चाईनिज ताईपेलाई पराजित गर्ने प्रत्येक सदस्यलाई जनही २५ हजार दिएको थियो । तर त्यस समय पनि एन्फाले यू–१८ साफ विजेता टिमलाई बेवास्ता गर्यो ।


एन्फा महासचिव इन्द्रमान तुलाधरले पुरानो कार्य समितिको निर्णय भएका कारण केही ढिला भएको र बैशाखमा दिने निर्णय कार्य समितिबाट भएको तर कोरोनाको कारण प्रभावित भएको बताए । महासचिव तुलाधरले यू–१८ च्याम्पियन पुरुष टिमको २ लाख र १३ औं साग विजेता पुरुष खेलाडीलाई दिने भनिएको ५ लाख ५० हजार सँगै दिने समेत बताए ।